सर्लाही, ५ साउन । विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालित उद्योगले एक साताभित्र भाडा नतिरे बिजुली र खानेपानीको सेवा काटिने भएको छ ।
विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले बक्यौता रहेका उद्योगलाई एक साताभित्र सम्पूर्ण बक्यौता भाडा बुझाउन निर्देशन हो । विशेष आर्थिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगको भाडा, सेवाशुल्क तथा अन्य देय रकमको विवरण सार्वजनिक गर्दै तत्काल बक्यौता असुली गर्न निर्देशन दिएको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सरकारी सम्पत्ति प्रयोग गरेर बर्सौंदेखि भाडा नतिर्ने उद्योगलाई कुनै पनि बहानामा छुट नदिन निर्देशन दिनुभएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले तयार गरेको बक्यौता विवरण अनुसार केही उद्योगले नियमित रूपमा भाडा तिरे पनि धेरै उद्योगले लामो समयदेखि भाडा नतिरेका कारण करोडौँ रुपियाँ सरकारी रकम उठ्न बाँकी छ ।
कतिपय उद्योगले आंशिक रकम बुझाएका छन् भने कतिपयले सम्झौता अनुसारको भाडासमेत नतिरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार पहिलो सूचीमा रहेका उद्योगको उठ्न बाँकी बक्यौता एक करोड ७७ लाख ६८ हजार पैसा छ । त्यस्तै दोस्रो सूचीमा रहेका उद्योगको बक्यौता करिब १६ लाख ९४ हजार छ ।
पहिलो सूची अनुसार छ करोड १४ लाख ५८ हजार २५९ रुपियाँ असुली भएको छ भने दोस्रो सूची अनुसार नौ करोड ९५ लाख ९२ हजार ४९२ रुपियाँ असुल गरिएको प्राधिकरणले जनाएको छ ।
