सर्लाही, ६ साउन । दुई वर्षअघि सत्ताकै झिनाझप्टीमा सहकार्य तोडेर दुई किनारा लागेका एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड फेरि प्रदेश सत्ताका लागि नजिकिएका छन् ।
एमाले र रास्वपाको समर्थनमा १८ महिनासम्म संघ सरकारको नेतृत्व गरेका तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड ०८१ असारमा एमालेले समर्थन फिर्ता लिएपछि पदमुक्त भएका थिए ।
त्यतिवेलै संघदेखि प्रदेशसम्म सत्ता सहकार्यका लागि ओली र कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाबिच भएको सहमति कार्यान्वयनमा अहिले विवाद भएपछि प्रदेशमा एमाले–नेकपा मिलेर सरकार बनाउने समझदारी गरेका हुन् ।
१७ असार ०८१ मा ओली र देउवाबिच भएको सहमतिअनुसार ओली प्रधानमन्त्री बनेका थिए । प्रदेशहरूमा पनि सहमतिअनुसार नै नेतृत्व बाँडफाँट गरेका थिए । तर, प्रधानमन्त्रीमा देउवाको पालो आउन नपाउँदै जेन–जी आन्दोलनले देशको सत्ता उलटफेर गरिदिएको थियो । निर्वाचनमा नराम्रोसँग पराजित ती दल केन्द्रीय सत्ताको घेराबाहिर पुगेका छन् ।
तर, प्रदेशहरूमा दुवै दलको सहकार्यमा सरकार चलिरहेकामा कांग्रेसमा आएको नयाँ नेतृत्वले १७ असार ०८१ को सहमतिअनुसार नेतृत्व फेरबदलको आवाज उठाएपछि एमालेसँग सम्बन्ध चिसिन सुरु भयो ।
त्यसपछि प्रदेश सभाहरूमा सरकार निर्माणका लागि ‘म्याजिक नम्बर’ रहेको नेकपासँग कांग्रेस र एमाले दुवैले संवाद चलाए । संवादले एमाले र नेकपालाई नजिक्याएको हो ।
कांग्रेसहित तीनै ठुला दल मिलेर प्रदेशमा चुनावी कांग्रेसहित तीनै ठुला दल मिलेर प्रदेशमा चुनावी सरकार बनाउन चाहिरहेका ओली र प्रचण्डले कांग्रेस नमाने दुई दलको सहकार्य अघि बढ्ने समझदारी गरेका हुन् । एमालेसँग सहकार्य गर्न अनिच्छा देखाउँदै कांग्रेस सभापति थापाले बरु प्रतिपक्षमा बस्ने बताइसकेका छन् ।
आइतबार श्रीलंकाबाट फर्किएका प्रचण्ड मंगलबार ओलीलाई भेट्न गुन्डुस्थित निवासमा पुगेका थिए । ओलीसँग छलफलपछि उनी पार्टी कामको सिलसिलामा जनकपुर पुगेका थिए ।
जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिहरूबिच सहकार्यको वातावरण बनेको र एमालेसँगको सहकार्य अगाडि बढिरहेको बताए ।
‘अहिले देशको राजनीतिक घटनाक्रमले वाम शक्तिबिच सहकार्य बढिरहेको छ, त्यसका लागि एमालेसँग कुराकानी चलिरहेको छ,’ प्रचण्डले भने । ओलीसँगको भेटलगत्तै आएको उनको यो अभिव्यक्तिले दुई पार्टी प्रदेशमा सरकार बनाउन नजिकिएको खुलेको छ ।
नेकपा प्रवक्ता प्रकाश ज्वालाले ओलीसँगको भेटर्वार्तामा सकारात्मक कुराकानी भए पनि मिलेर जाने विषय निष्कर्षमा नपुगेको बताए ।
‘हाम्रोतर्फबाट प्रचण्ड कमरेडले संविधान बनाउने, लोकतन्त्र र संघीयता पक्षधर प्रमुख तीन पार्टी मिलेर प्रदेशहरूमा चुनावी सर्वदलीय सरकार बनाउने प्रस्ताव राख्नुभयो, यही प्रस्ताव उहाँले कांग्रेस सभापतिलाई पनि राख्नुहुन्छ,’ उनले भने, ‘अहिलेका लागि यो प्रस्ताव नै उपयुक्त भए पनि कांग्रेस सभापतिको कस्तो रेस्पोन्स आउँछ, त्यस आधारमा नै एमालेसँग अलग्गै सहकार्य हुन्छ कि हुँदैन टुंगो लाग्छ ।’
ज्वालाले सहसंयोजक माधवकुमार नेपालसँगको परामर्शपछि एउटा निष्कर्षका आधारमा संयोजक प्रचण्डले अब कांग्रेस सभापति थापासँग कुराकानी गर्ने बताए ।
ओली पनि प्रदेशमा कांग्रेससहित चुनावी सरकार बन्ने अवस्था नरहे नेकपासँग मिलेर सरकार बनाउने निचोडमा पुगेका निकट नेताहरू बताउँछन् ।
एमाले सचिव पद्मा अर्यालले दुई नेताबिच सम्भावित सहकार्यकै विषयमा कुराकानी भएको बताइन् । ‘देशको अहिलेको अवस्थाले वाम–लोकतान्त्रिक शक्तिबिच सहकार्यको आवश्यकता छ, प्रदेशहरूमा पनि त्यसरी नै जाँदा उपयुक्त हुन्छ भन्ने पार्टीको निष्कर्ष हो,’ उनले भनिन्, ‘दुई नेताबिच भएका कुराकानीको औपचारिक जानकारी नभए पनि उहाँहरूबिच त्यस्तै संवाद भएको बुझिन्छ ।’
ओलीसँगको संवादपछि प्रचण्डले काठमाडौं आएका पार्टीका कोशी प्रदेशका नेता इन्द्र आङ्बो र पूर्वमुख्मयन्त्री राजेन्द्र राईलाई कांग्रेस आफ्नो अडानबाट पछि नहटे प्रदेशहरूमा वाम शक्तिबिचकै सहकार्यको सम्भावना हुने भनेपछि उनीहरूले आन्तरिक छलफल चलाइरहेका छन् । त्यस्तै, सुदूरपश्चिम, बागमती र कर्णालीमा पनि एमाले र नेकपाका नेताहरू प्रदेशस्तरीय संवादमा बसेका छन् ।
