सर्लाही, ७ साउन । सरकारले काठमाडौं उपत्यकाभित्रका नदीकिनारबाट हटाइएका भूमिहीन सुकुमवासीलाई जिल्ला पठाउन थालेको छ । नागरिकतामा उल्लेखित वतनका आधारमा उनीहरूलाई सम्बन्धित जिल्ला पठाउन थालेको हो ।

सरकारबाट गठित भूमि समस्या समाधान समितिका अनुसार मंगलबार २९ परिवारलाई सर्लाही, सुनसरी, रौतहट, ताप्लेजुङ, चितवन, मोरङ, धनकुटा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, महोत्तरी, भोजपुर, सुनसरी, धनुषा, झापा र कास्की पठाइएकोमा बुधबार १७ परिवारलाई सम्बन्धित जिल्ला पठाइएको छ ।

‘काठमाडौं उपत्यकाभित्रका नदीकिनारबाट हटाइएका सुकुमवासीलाई उनीहरूकै जिल्ला पठाउन थालिएको छ । नागरिकतामा उल्लेखित भएको जिल्ला पहिचान गरी सम्बन्धित जिल्लामा पठाइएको हो,’ भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बास्तोलाले भने, ‘मंगलबार २९ र बुधबार १७ परिवारलाई पठाइएको छ । यो क्रम जारी छ ।’

समितिका अनुसार काठमाडौं उपत्यकाभित्र हालसम्म दुई हजार ६०८ घरपरिवार भूमिहीन सुकुमवासी प्रमाणित भएका छन् । केही परिवारलाई भक्तपुरको खरिपाटी र बोडे तथा बनेपाको रेडक्रस तालिम केन्द्रमा राखिएको छ ।

४० परिवारलाई तारकेश्वरको इचंगुनारायणस्थित आपर्टमेन्टमा राखिएको छ । अधिकांश आफैँ डेरा खोजेर तथा आफन्तको शरणमा पुगेका छन् ।

सरकारले गत १२ वैशाखदेखि काठमाडौं उपत्यकाभित्रका नदीकिनारमा बसेका सुकुमवासी बस्ती हटाएको थियो । त्यसपछि सरकारले नै उपलब्ध गराएको सेल्टरमा बस्दै आएकामा पछिल्लो समय २५ हजारका दरले दिएर आफैँ बासको व्यवस्था गर्नू भन्दै निकालेको थियो ।

कीर्तिपुर होल्डिङ सेन्टरमा बाढी पसेपछि खरिपाटी र बोडे पुर्‍याइएका परिवारको अवस्था अहिले पनि बिजोग छ । खुला चौरमा टाँगिएको टेन्टमा राखिँदा जीवन अस्तव्यस्त बनेको छ ।

उनीहरूलाई स्वच्छ खानेपानीको अभाव छ । शौचका लागि ट्वाइलेटको अभाव छ । लुगा धुने, नुहाउने, भाँडा माझ्ने उपयुक्त स्थान छैन ।

यो समस्याले विशेष गरी किशोरीहरूलाई ठुलो मर्कामा पारेको छ । अस्वस्थकर खाना खानुपरेको चिन्ता पनि जनाएका छन् । सुकुमवासी परिवारका बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् ।

बोडे सेल्टरमा बस्दै आएका प्रवेश राइगाई त सुकुमवासीको सूचीमै नपरेपछि तनावमा रहेको बताउँछन् । ‘मेरो परिवारको सुकुमवासी सूचीमा नाम नै निस्किएन । म तनावमा छु ।

सुकुमवासीलाई जिल्ला पठाउने काम सुरु भएको छ । अब के गर्ने हो मैले त केही सोच्नै सकेको छैन,’ उनले भने, ‘जिल्ला पठायो र राम्रो बन्दोबस्त भयो भने त ठिकै होला । नत्र त झन् बिजोग हुने भो  ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *