Oplus_131072

सर्लाही, ७ साउन । पाँच लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धानका लागि बर्दिबास लगेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले बिहीबार कार्यालय परिसरमै पाललाई पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो ।

पक्राउपछि आवश्यक मुचुल्का, बरामद विवरण संकलन तथा प्रारम्भिक अनुसन्धान प्रक्रिया पूरा गरी करिब साढे चार घण्टापछि उनलाई थप अनुसन्धानका लागि आयोगको बर्दिबास कार्यालय लगिएको अख्तियार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार सिरहा सुपर मार्केटको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा कर अधिकृत पालले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राईसहित अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै सुरुआतमै पाँच लाख रुपैयाँ घुस मागेका थिए ।

अडिटका क्रममा कम्पनीलाई कर, जरिवाना तथा अन्य शीर्षकमा करिब दुई करोड रुपैयाँ दायित्व देखाइएको थियो। त्यसपछि थप कागजात पेस गरे दायित्व अझै बढ्न सक्ने भन्दै १२ लाख रुपैयाँ दिए सबै समस्या समाधान गरिदिने प्रस्ताव राखिएको स्रोतको दाबी छ । कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि अन्ततः पाँच लाख रुपैयाँमा सहमति भएको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धान सम्पन्न भएपछि प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *