सर्लाही, ८ साउन । डा. गोविन्द केसी अनशन बसेका छन् ।
आफूले उठाएका माग सरकारले पूरा नगरेको भन्दै केसी बिहीबारदेखि अनशन बसेका हुन् ।
डा. केसी बिहीबार अपराह्नदेखि धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा अनशन बसेका हुन् ।
आफूले उठाएका माग पूरा गर्न दबाब दिने उद्देश्यले उनी अनशन बसेका छन् ।
उनले ५ बुँदे माग अघि सार्दै साउन ५ भित्र पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका थिए ।
चिकित्सा शिक्षा आयोग, दशरथ चन्द विश्वविद्यालय लगायतका नियुक्तिमा हुने राजनीतिक हस्तक्षेप बन्द हुनुपर्ने उनको माग छ ।
उनले मापदण्ड नै नपुगेका निजी मेडिकल कलेजमा सिट संख्या वृद्धि गर्ने प्रस्ताव अघि नबढाउन पनि माग गरेका छन् । चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउनुपर्ने माग पनि उनको छ ।
साथै चिकित्सा शिक्षा आयोगमार्फत् विद्यार्थीको छात्रवृत्ति कटौती नगर्न उनले भनेका छन् । विगतमा आफू अनशन बस्दा सरकारले गरेका सहमति कार्यान्वयन गर्न पनि उनले माग गरेका छन् ।
