सर्लाही, ११ साउन ।  एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उक्त पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल ओलीको गुण्डुस्थित निवास जाँदै छन् ।

प्रदेश सरकारमा नेकपासँग साझेदारी गर्ने सहमतिपछि उत्पन्न विवाद र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनका विषयमा उत्पन्न मतभेद मिलाउन पौडेल र पोखरेल गुण्डु जाने भएका हुन् । अध्यक्षको ओलीको सचिवालयका एक सदस्यले बताएअनुसार पौडेल र पोखरेलले अपराह्न ३ बजे आइपुग्ने खबर गरेका छन् ।

प्रदेश सरकार गठन गर्ने सम्बन्धमा नेकपासँग भएको ३ बुँदे सहमतिपूर्व पार्टीमा छलफल नगरेको भन्दै नेताहरु अध्यक्ष ओलीसँग असन्तुष्ट छन् ।

त्यसमाथि कोशी र लुम्बिनी प्रदेशमा भइरहेका मुख्यमन्त्रीलाई हटाएर अर्को मुख्यमन्त्री बनाउने तयारी, बागमतीमा संसदीय दलको नेतालाई नबनाएर अरुलाई मुख्यमन्त्री बनाउने ओलीको मनस्थितिका कारण पार्टीमा थप जटिलता उत्पन्न हुने भन्दै पौडेल र पोखरेलले त्यसो नगर्न ओलीलाई भन्दै आएका छन् ।

एमालेस्रोतका अनुसार निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको प्रतिवेदन लगभग तयार भएका कारण उक्त प्रतिवेदनमा उल्लेखित विषयमा पनि अध्यक्ष ओलीसँग पौडेल र पोखरेलले कुरा गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *