सर्लाही, ११ साउन । सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् ।
साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरुले पीडितलाई न्याय दिइयोस्, सहकारी पीडितका समूहलाई फुटाउने षडयन्त्र नगरियोस्, छिटो न्याय दे लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । साना वा ठूला बचतकर्ता नभनी सबैलाई समानरूपमा बचत फिर्ता गराउनुपर्ने र ऋणीहरूबाट असुलउपर गरेर भए पनि रकम उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरेका छन् ।
साथै उनीहरूले आफूहरुको आन्दोलन विशुद्ध पीडितहरूको साझा मञ्च भएकाले कुनै राजनीतिक दल वा घुसपैठियाहरूलाई ठाउँ नदिने र पीडितकै नेतृत्वमा आन्दोलन अघि बढाउने जनाएका छन् ।
सरकारले आफ्ना मागहरू तत्काल कार्यान्वयन नगरे २ दिनको ध्यानाकर्षण र्यालीपछि थप सशक्त रूपमा आन्दोलनमा उत्रिने उनीहरूको चेतावनी छ ।
