सर्लाही, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा सर्लाही सदरमुकाम मलंगवामा सोमबार शान्तिपूर्ण प्रदर्शन गरिएको छ ।
हिन्दु सम्राट सेना नेपाल, सर्लाहीको आयोजनामा अपराह्न करिब ६ बजे मलंगवा नगरपालिका चौकबाट सुरु भएको प्रदर्शन जिल्ला विकास समिति (जिविस) चौकसम्म पुगेको थियो ।
प्रदर्शनमा सहभागीहरूले देवानगञ्ज घटनामा संलग्न दोषीमाथि कडा कारबाही, पीडितलाई न्याय तथा घटनाको निष्पक्ष छानबिनको माग गर्दै नाराबाजी गरेका थिए ।
आइतबार सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।
उक्त घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन् ।
घटनापछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फिर्ता बोलाएको छ । साथै, घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।
यसैबीच, थप अप्रिय घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यु आदेश लागू गरेको जनाएको छ ।
