सर्लाही, १२ साउन । सुनसरीको देवानगञ्ज घटनाका विषयलाई लिएर ठाउँ ठाउँमा प्रदर्शन भइरहेको छ । आइतबार राति दुई समुदायका बीचको झडपमा प्रहरीको गोलीले एक जनाको मृत्यु भएको घटनालाई लिएर सुनसरी र मोरङका विभिन्न स्थानमा आन्दोलनसँगै घरेलु हतियार बोकेर निस्किएका प्रदर्शनकारीले बजार बन्द गराएका छन् ।
सुनसरीको देवानगञ्ज क्षेत्रको स्थिति बिस्तारै सामान्य बन्दै गए पनि सुनसरीको इटहरीदेखि कोशी ब्यारेजसम्मको पूर्व पश्चिम सडक खण्डमा प्रदर्शन चर्किएको छ । पकलीदेखि कोशी ब्यारेजसम्मको खण्डमा सवारीसाधन अवरुद्ध छ । प्रदर्शनकारीहरूले ठाउँ-ठाउँमा टायर बालेर सडक अवरोध गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार देवानगञ्ज क्षेत्र साम्य हुँदै गए पनि राजमार्गमा प्रदर्शन चर्किएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इटहरीबाट पश्चिम जाने सवारी साधनलाई रोकिएको छ । सुनसरीको सदरमुकाम इनरुवामा प्रदर्शन भइरहेको छ ।
सुनसरीको दुहबीमा बिहान सद्भाव र्याली निकालिएको छ । विराटनगरमा केही व्यवसायीले असुरक्षाका कारण बजार बन्द गरेका छन् ।
