सर्लाही, १३ साउन । सर्लाही जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, शान्ति–सुरक्षा तथा सांस्कृतिक एकता कायम राख्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष विजयराज सुवेदीको अध्यक्षतामा सर्वदलीय/सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख, जिल्लास्थित स्थानीय तहका प्रमुख तथा अध्यक्षहरू, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ तथा चेम्बर अफ कमर्सका प्रतिनिधि, विभिन्न धर्मका धार्मिक गुरुहरू र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बैठकले जिल्लाको शान्ति, सुव्यवस्था, सद्भाव र अमनचयनलाई अक्षुण्ण राख्ने, सम्भावित द्वन्द्व तथा असमझदारीलाई संवादमार्फत समयमै समाधान गर्ने तथा सबै सरोकारवालाबीच साझा प्रतिबद्धता कायम गर्ने उद्देश्यसहित ९ बुँदे निर्णय गरेको छ ।
बैठकका प्रमुख निर्णयहरू यसप्रकार छन् :
- धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मेलमिलापलाई थप सुदृढ बनाउन सबै समुदायले आ–आफ्नो तहबाट सक्रिय भूमिका निर्वाह गर्ने ।
- डीजे (DJ) बाजा प्रयोगसम्बन्धी पूर्वनिर्णय कडाइका साथ कार्यान्वयन गर्ने तथा उल्लंघन गर्नेहरूलाई कानुनी कारबाही गर्ने ।
- धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालनअघि आवश्यक अनुमति लिने, आयोजकको जिम्मेवारी स्पष्ट गर्ने र शान्ति–सुरक्षाको व्यवस्थापन सुनिश्चित गर्ने ।
- प्रत्येक स्थानीय तहमा स्थानीय शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी सम्भावित विवादलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्ने ।
- नागरिकता लगायतका सार्वजनिक सेवामा सहजता ल्याउन आवश्यक कागजातको चेकलिस्ट तयार गरी वडा तहसम्म उपलब्ध गराउने तथा टोकन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।
- जिल्लाभित्र हुने अवैध कारोबार, गैरकानुनी गतिविधि तथा चोरी–तस्करी नियन्त्रणका लागि सुरक्षा निकायलाई आवश्यक सूचना र सहयोग उपलब्ध गराउने ।
- लागूऔषध नियन्त्रण तथा जनचेतना अभिवृद्धिका लागि स्थानीय तहको समन्वयमा वार्षिक कार्ययोजना बनाई व्यापक अभियान सञ्चालन गर्ने ।
- अन्य मुलुकबाट नेपाल प्रवेश गर्ने आप्रवासीहरूमाथि आवश्यक निगरानी राखी शंकास्पद गतिविधिबारे तत्काल सुरक्षा निकायलाई जानकारी गराउने ।
- सामाजिक सद्भावमा असर पुग्ने खालका अफवाह तथा तथ्यहीन सूचना सामाजिक सञ्जालमा फैलिएको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराई साइबर अपराधअन्तर्गत आवश्यक कारबाहीमा सहयोग गर्ने ।
