सर्लाही, १३ साउन । सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

बुधबार बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

घाइते परिवारलाई जनही ५० हजारका दरले राहत दिने घोषणा गरेको सरकारले घर, पसल र अन्य आगजानी भएका परिवारलाई पनि  ५० हजारका दरले राहत दिने घोषणा गरेको छ ।

सर्वदलीय बैठकले विभिन्न ८ बुँदे निर्णय समेत गरेको छ। साउन १० गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारलको आयोजनामा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम गर्न आठबुँदे निर्णय गरेको हो ।

सरकारले सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

सामुदायिक तहमा मेलमिलाप र सद्भाव कायम गर्न स्थानीय प्रशासनसँग समन्वय गरी सद्भाव यात्रा तथा सार्वजनिक अपिललगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

बैठकले सबै धार्मिक समुदायका संघ–संस्थाले संयुक्त अपिल जारी गर्दै समन्वय र सहजीकरणमा भूमिका खेल्नुपर्ने, सीमाक्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता अपनाउने तथा घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *