सर्लाही, १३ साउन । वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिट घटनाको अनुसन्धानका क्रममा सोधपुछका लागि वडाध्यक्ष चतुर्वेदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले नारायणी अस्पतालमा भएको तोडफोड र कुटपिटको घटनामा वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित अंकित पटेल र शैलेश पटेललाई पक्राउ गरिएको पुष्टि गर्नुभयो ।
उहाँका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइने तयारी गरिएको छ ।
आवश्यक म्याद थपका लागि उहाँहरूलाई आजै जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित गराइने प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।
वडाध्यक्षको रिहाइ माग, आन्दोलनको चेतावनी
यसैबिच, वीरगञ्ज महानगरपालिकाको नगर परिषद् बैठकले वडाध्यक्ष चतुर्वेदीलाई तत्काल रिहा गर्न माग गरेको छ । परिषद्ले जननिर्वाचित प्रतिनिधिलाई पक्राउ गर्नु अन्यायपूर्ण भएको दाबी गर्दै तत्काल रिहा गर्न सरकारसँग आग्रह गरेको छ । साथै, चतुर्वेदीलाई तत्काल रिहा नगरिए चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनीसमेत परिषद् बैठकले दिएको छ ।
