सर्लाही, १३ साउन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले देशभरका १२ वटा संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध गराउन थालेको छ ।

विभागले मंगलबार एक सूचना जारी गर्दै ‘एएमपिआइएस नेपाल नामक मोबाइल एप सञ्चालनमा ल्याइएको जानकारी दिएको हो । एपमार्फत किसान, व्यापारी तथा सरोकारवालाले कृषि उपजको दैनिक थोक मूल्य, मूल्य प्रवृत्ति तथा बजारसम्बन्धी विभिन्न जानकारी सहजै प्राप्त गर्न सक्ने विभागले जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्ययोजनाअन्तर्गत कृषि उपजको बजार सुनिश्चित गर्न राष्ट्रिय कृषि बजार सूचना प्रणाली सञ्चालन गर्ने तथा डिजिटल माध्यमबाट दैनिक मूल्य जानकारी कृषकसम्म पु¥याउने उद्देश्यले यो सेवा सुरु गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार सरकारीस्तरबाट सञ्चालित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिसहित सुनसरी, झापा, धनुषा, सर्लाही, सिन्धुली, कास्की, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रुपन्देही, बाँके, सुर्खेत र कैलालीस्थित कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य एपमार्फत उपलब्ध हुनेछ ।

कृषि विभागले उक्त एप एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरमा उपलब्ध रहेको जनाएको छ । विभागको वेबसाइटमा राखिएको क्यूआर कोड स्क्यान गरेर पनि एप डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ ।

एपमार्फत प्रयोगकर्ताले कृषि उपजको न्यूनतम, अधिकतम र औसत थोक मूल्य, विभिन्न बजारबीचको मूल्य तुलना, मूल्यको प्रवृत्ति तथा कृषि मौसमसम्बन्धी बुलेटिनसमेत हेर्न सक्नेछन् ।

यसबाट किसानले आफ्नो उत्पादनको उचित मूल्यबारे समयमै जानकारी पाउने र बजार व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा विभागको छ ।

कृषि विभागका अनुसार डिजिटल सूचना प्रणालीमार्फत बजार मूल्यको पारदर्शिता बढ्ने, किसानलाई उत्पादन बिक्रीका लागि उपयुक्त बजार छनोट गर्न सहज हुने तथा कृषि बजार सूचना प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

विभागले कृषि बजार मूल्यसम्बन्धी थप जानकारी आवश्यक परेमा आफ्नो वेबसाइट तथा एएमपिआइएस नेपाल मोबाइल एप प्रयोग गर्न अनुरोध गरेको छ । सूचना कृषि विभागका सूचना अधिकारी तिलकराज चौलागाईंले जारी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *