सर्लाही, १५ साउन । सुनसरीको कप्तानगञ्जमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएपछि सुरु भएको विवाद चर्किएपछि बिहीबार बेलुका विराटनगर आएका गृहमन्त्री सुधन गुरुङ रातभर सक्रिय रहे ।
बिहीबार साँझ ७ बजे विराटनगर विमानस्थलमा अवतरण गरेपछि विमानस्थलमै सुरक्षा निकायसँग ब्रिफिङ लिएर निस्किएका उनले बिहीबारको रात छलफलमै कटाए । शुक्रबार बिहान गोली लागेर मृत्यु भएका परिवारसँग लिखित सहमति गरेर विराटनगर फर्किए । विराटनगरबाट सिरहा जाने तयारीमा छन् ।
विराटनगर विमानस्थलमा चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखबाट ब्रिफिङ लिएपछि उनी गोली काण्डका घाइते भेट्न अस्पताल पुगे ।
न्यूरो अस्पताल विराटनगरमा उपचाररत घाइतेको अवस्था गृहमन्त्रीले बुझ्दै गर्दा बाहिर उनीविरुद्ध नाराबाजी भयो । नाराबाजी गर्ने युवाहरुले उनको राजीनामा माग गरे । प्रदर्शनका कारण उनी समयमा नै अस्पतालबाट बाहिरिन पाएनन् । प्रहरीले प्रदर्शनकारीलाई सम्झाएपछि बल्ल अस्पतालबाट निस्किएर देवानगञ्ज पुगेका थिए ।
राति करिब पौने १२ बजे देवानगञ्ज गाउँपालिकाको कार्यालय पुगेर उनले जनप्रतिनिधि र सामाजिक अगुवाहरूसँग छलफल गरे ।
यो छलफल रातभर नै चल्यो । कप्तानगञ्जका स्थानीयले उठाएको माग सम्बोधन गर्ने गृहमन्त्रीले वचन दिएपछि बिहान करिब ४ बजे ६ बुँदे सहमतिको ड्राफ्ट तयार भयो ।

मृतकद्वय ओमप्रकाश र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने, मृतक परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने, कप्तानगञ्जमा भएको घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्ने, मदरसाको छानबिन गर्ने, मृतकका परिवारका सदस्यलाई रोजगारी, मृतकको सम्झनामा स्मृति पार्क बनाउने सम्झौताको लिखत ड्राफ्ट भयो । परिवारसँग भेट भएपछि आज अन्त्येष्टि गरिने बुँदा पनि थप गरेर सात बुँदे सहमति भयो ।
गृहमन्त्रीसँगै स्वास्थ्य मन्त्री निशा मेहता पनि रातभर सक्रिय रहिन् । सांसद बब्लु गुप्ता, लालविक्रम थापा, स्थानीय जनप्रतिनिधि, कप्तानगञ्जका स्थानीय र सुरक्षा निकायको टोली पनि रातभर सक्रिय रहे ।
रातभरको दौडधूपपछि दुवै मृतकको परिवारसँग सहमति गरे । त्यसपछि आइतबार राति झडप भएको र गोली चलेको स्थानको निरीक्षण गरे । कप्तानगञ्जबाट फर्कनुअघि उनले आइतबार रातिदेखि सुरक्षामा खटिएका सुरक्षकर्मीको हौसला बढाएका थिए । बाटोमा बर्जु गाउँपालिकाका स्थानीयसँग पनि छोटो छलफल गरे ।
रातभर जाग्राम बसेर देवानगञ्ज घटना साम्य पार्न भूमिका निर्वाह गरेका गृहमन्त्री आज दिउँसो सिरहामा मृत्यु भएका युवकको परिवारलाई पनि भेट गर्न जानेछन् ।
सरकार र पीडित परिवारबीच भएको सहमति पछि आइतबाररातिबाट सुरु भएको आन्दोलन रोकिएको छ । संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश भने हटाएको छैन ।
‘सहमति पछि कप्तानगञ्जको अवस्था सामान्य छ , संवेदनशीलतालाई हेरेर कर्फ्यु भने यथावत छ,’ सुनसरी प्रहरी प्रवक्ता डिएसपी चन्द्रबहादुर खड्काले भने,‘ परिस्थितिको विश्लेषणपछि कर्फ्यू आदेशका बारेमा थप निर्णय हुनेछ ।’
