सर्लाही, १५ साउन । सर्लाहीको मलंगवा नगरपालिकाले देशका विभिन्न स्थानमा भएका दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति, सद्भाव, सामाजिक एकता र सहिष्णुता कायम राख्न सबै नगरवासीसँग सार्वजनिक अपिल गरेको छ ।
नगर प्रमुख नागेन्द्र प्रसाद यादवद्वारा जारी अपिलमा हालैका घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
नगरपालिकाले नागरिकहरूलाई संयम अपनाउन, आपसी सद्भाव र सामाजिक एकता कायम राख्न तथा अपुष्ट समाचार, अफवाह वा उत्तेजनात्मक सामग्री सामाजिक सञ्जाल वा अन्य माध्यमबाट प्रचार–प्रसार नगर्न आग्रह गरेको छ ।
त्यस्तै, कुनै पनि प्रकारको साम्प्रदायिक विभाजन, घृणा वा हिंसा फैलिन नदिन सबैले आ–आफ्नो स्थानबाट जिम्मेवार र सचेत भूमिका निर्वाह गर्न अपिल गरिएको छ ।
अपिलमा मलंगवा नगरपालिका विविध जाति, भाषा, धर्म तथा संस्कृतिले सम्पन्न साझा घर भएको उल्लेख गर्दै सबैभन्दा ठूलो शक्ति आपसी एकता, सद्भाव र पारस्परिक सम्मान रहेको जनाइएको छ ।
जुनसुकै चुनौती पनि शान्तिपूर्ण संवाद, कानुनी प्रक्रिया र आपसी विश्वासका माध्यमबाट समाधान गर्न सकिने विश्वास नगरपालिकाले व्यक्त गरेको छ ।
नगरपालिकाले अन्त्यमा सबै नागरिकलाई “शान्ति, सद्भाव, सामाजिक एकता र मानवताको पक्षमा एकजुट बनौं” भन्ने सन्देशसहित सामाजिक सद्भाव कायम राख्न पुनः आग्रह गरेको छ ।

