सर्लाही, १८ साउन । सर्लाहीको हरिवन नगरपालिका-४ गणेशचोकस्थित पूर्व-पश्चिम लोकमार्गमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान साढे ७ बजे हरिपुरबाट हरिवनतर्फ कामको सिलसिलामा साइकलमा जाँदै गरेका हरिपुर नगरपालिका-५, लक्ष्मीपुर निवासी ५० वर्षीय पञ्चलाल चौधरीलाई सोही दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्रक फरार भएको जानकारी प्राप्त भएपछि प्रहरीले खोजतलास तीव्र बनाएको थियो । अनुसन्धानका क्रममा म.प्र.०३–००२ ख ११९४ नम्बरको ट्रक दुर्घटनामा संलग्न रहेको खुलेपछि इलाका प्रहरी कार्यालय कर्मैयालाई जानकारी गराइएको थियो ।
प्रहरीले उक्त ट्रकसहित चालक बारा जिल्ला कोल्बी नगरपालिका-१६ निवासी २५ वर्षीय नरबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । आवश्यक अनुसन्धानका लागि चालकलाई इलाका प्रहरी कार्यालय हरिवनमा ल्याएर राखिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा प्रयोग भएको साइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलको मुचुल्का सम्पन्न गरी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।

