सर्लाही, १८ साउन । बजारमा खाना पकाउने एलपी ग्यासको फेरि अभाव भएको छ । मध्यपूर्वको तनावले गएको फागुन/चैतमा ग्यासको अभाव भोगेका उपभोक्ताले अहिले फेरि सहजरुपमा ग्यास पाउन सकेका छैनन् ।

नेपाल आयल निगमले कोटा अनुसार ग्यासको आयात नियमित भइरहेको दाबी गरे पनि उपभोक्ता ग्यासका लागि लाइन लाग्न र पालो कुर्न बाध्य छन् ।

ग्यास सहजै पाउन नसकेको हप्ता/दश दिन भैसकेको छ । यसअघि आधा सिलिन्डर ग्यास दिइरहेको आयल निगमले गएको असार ३१ गते यता फेरि भरी सिलिन्डर बजारमा पठाउन थालेपछि समस्या शुरु भएको हो ।

एक्कासी भरी सिलिण्डरको माग बढ्दा बजार असहज भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताउनुभयो । गएको चैत २९ गतेदेखि आधा सिलिण्डर अर्थात् ७.१ केजी वितरण हुन थालेपछि ग्यासको खपत घटेको थियो ।

अहिले फेरि १४.२ केजीको भरी सिलिन्डर वितरण शुरु भएपछि खाली सिलिन्डर साट्न लाइन बढेको निगमको दाबी छ । अहिले बजारमा माग बढेर ६० हजार मेट्रिक टनसम्म पुगेको निगमको अनुमान छ ।

निगम प्रवक्ता ठाकुरका अनुसार सामान्य अवस्थामा मासिक ४५ देखि ५० हजार मेट्रिक टन ग्यास खपत हुन्छ । ग्यास नपाइने हो कि भनेर सञ्चय गरी राख्ने उद्देश्यले ग्यास खरिद नगर्न उपभोक्तालाई निगमको आग्रह छ ।

निगमले अस्ति शनिवारदेखि काठमाण्डौको टेकुबाट समेत ग्यास बिक्री गरिरहेको छ । तर त्यहाँ पनि सहज नरहेको उपभोक्ताको गुनासो छ ।

निगमका अनुसार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर वितरण भैरहेको छ ।

यस्तै साल्ट ट्रेडिङ  कर्पोरेसन कालीमाटीमा समेत ग्यास लिने उपभोक्ताको लाइन लागेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *