सर्लाही, १८ साउन । पाँच महिनासम्म उखु किसानको भुक्तानी नदिएपछि पक्राउ गरिएका सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्तालाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।
किसानको उजुरीको आधारमा काठमाडौँबाट पक्राउ गरेर सर्लाही ल्याइएका गुप्तालाई करिव तीन साता मलंगवास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
गुप्तालाई बोलाएको बखत उपस्थित हुने गरी विश्वासिलो व्यक्तिको जमानतमा छाडिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
गत माघ/फागुनमा बिक्री गरेको उखुको भुक्तानी नपाएको भन्दै ५० जना भन्दा बढी किसानले गुप्ताविरुद्ध उजुरी दिएका छन् । अन्नपूर्ण चिनी मिलले उखु क्रसिङ सिजन २०८२/८३ मा तीन हजार १८६ जना किसानबाट खरिद गरिएको नौ लाख ९३ हजार ७५२।६७ क्विन्टल उखु क्रसिङ गरेको थियो ।
६१ करोड ६१ लाख २७ हजार ६५५ रुपियाँ चार पैसा बराबरको उखु खरिद गरेको उद्योगले किसानलाई अझै २२ करोड रुपियाँको हाराहारीमा भुक्तानी दिन बाँकी रहेको छ ।
केही साताअघि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षतामा गठन गरिएको छानविन समितिले समेत अन्नपूर्ण चिनी उद्योग धनकौलबाट किसानले २२ करोडको हाराहारीमा भुक्तानी पाउन बाँकी रहेको प्रतिवेदन दिएको थियो ।
उद्योग प्रशासनले भने अहिले पनि दिनहुँ किसानको भुक्तानी भइरहेको दावी गरेको छ । नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष श्यामबाबु रायले दशैँअघि किसानको भुक्तानी गरिसक्ने सर्तमा आफूहरु समेतको सहमतिमा उद्योगी गुप्ता छुटेको बताउनुभयो ।
मिलमा ११ करोड बराबरको चिनी बिक्री हुन बाँकी रहेको र बाँकी हुने रकम बैङ्कबाट ऋण लिएर भए पनि किसानको पैसा दिने उद्योगीले बताएका उखु उत्पादक महासङ्घका अध्यक्ष रायको भनाइ छ ।
किसानका लागि आगामी दिनमा पनि उद्योगी चाहिने भएकाले भुक्तानीको ग्यारेन्टी भए मिल मालिकलाई छाडिदिन आफूहरूले भनेको उखु उत्पादक महासङ्घका अध्यक्ष रायको भनाइ छ ।
उखु बिक्री गरेको पाँच महिनासम्म पैसा नपाउँदा दैनिक घर खर्च धान्न, खेतीबालीका लागि मलखाद तथा कामदारको व्यवस्थापन गर्न र छोराछोरीका लागि पठनपाठन खर्च जुटाउन सकस परेको किसानले गुनासो गरेका छन् ।
