सर्लाही, १८ साउन । नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेशमा सुरक्षा संवेदनशीलता बढ्दै गएपछि सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन ‘बोर्डर इन्टरयाक्शन टिम (बीआईटी)’ सञ्चालनमा ल्याएको छ ।
पाइलट परियोजनाका रूपमा साउन १० गतेदेखि सुरु गरिएको यो अभियान अन्तर्गत प्रमुख सीमा नाकामा सादा पोशाकमा महिला तथा पुरुष सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सशस्त्र प्रहरीका अनुसार बीआईटीका सदस्यहरूले सीमा पार गर्ने यात्रुलाई आवश्यक सूचना तथा सहजीकरण गर्नुका साथै शंकास्पद गतिविधिमाथि निगरानी राख्ने जिम्मेवारी पाएका छन् ।
हाल यो व्यवस्था झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, रुपन्देहीको डन्डा, बाँकेको जमुनाहा र कैलालीको त्रिनगर गरी ६ वटा प्रमुख नाकामा लागू गरिएको छ । तीमध्ये वीरगञ्ज नाका अन्तर्राष्ट्रिय व्यापार तथा आवागमनका दृष्टिले सबैभन्दा व्यस्त भएकाले यहाँ विशेष सुरक्षा सतर्कता अपनाइएको छ ।
सीमा सुरक्षालाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन विभाग तथा भारतीय सुरक्षा निकायसँग नियमित समन्वय भइरहेको जनाइएको छ ।
सीमा क्षेत्रमा गस्ती, चेकपोइन्ट, सुराकी परिचालन तथा प्रविधिमा आधारित निगरानीलाई समेत सुदृढ बनाइएको सुरक्षा अधिकारीहरूले बताएका छन् । नेपाल प्रहरीले सीमावर्ती जिल्लाका प्रहरी प्रमुखलाई शंकास्पद गतिविधिमाथि विशेष निगरानी राख्न निर्देशन दिएको जनाएको छ ।
हालै राष्ट्रियसभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नेपाल प्रहरीका महानिरीक्षक अबि नारायण काफ्लेले रोहिंग्या, पाकिस्तानी तथा सोमालियाली नागरिकसँग सम्बन्धित गतिविधिले सुरक्षा चुनौती बढाउन सक्ने बताएका थिए। त्यसपछि सीमा क्षेत्रमा निगरानी थप कडा बनाइएको सुरक्षा निकायको भनाइ छ ।
सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नेत्रबहादुर कार्कीले खुला सीमाको सुविधासँगै त्यसको दुरुपयोग हुने सम्भावना पनि रहने भएकाले बीआईटीमार्फत शंकास्पद गतिविधि पहिचान गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।
गत आर्थिक वर्षमा मात्र अवैध रूपमा नेपाल प्रवेश गर्न खोजेका २० जना तेस्रो देशका नागरिकलाई नियन्त्रणमा लिएर अध्यागमन विभागलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सुरक्षा विज्ञहरूले खुला सीमाको प्रभावकारी व्यवस्थापनका लागि स्थानीय समुदायको सक्रिय सहभागिता, सुरक्षा निकायबीचको समन्वय र दीर्घकालीन रूपमा परिचयपत्र प्रणाली लागू गर्नुपर्ने सुझाव दिएका छन् ।
सुरक्षा निकायका अनुसार सीमा क्षेत्रमा सहज आवतजावतलाई कायम राख्दै राष्ट्रिय सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले बीआईटी अभियान सञ्चालन गरिएको हो ।
