सर्लाही, १९ साउन । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडक खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन् ।
मंगलबार बिहान करिब ७:३० बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी अन्दाजी ४० वर्षीय विजय भुजेलसहित बसमा सवार ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको तथा बाँकी पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको उपचारका लागि बिके अस्पताल, गौशाला तथा स्थानीय मेडिकलमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।
