सर्लाही, २० साउन । सर्लाहीको सदरमुकाम मलंगवामा अनुदानमा उपलब्ध हुने रासायनिक मल कालोबजारी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका-१० स्थित कृष्ण जेनरल स्टोरबाट डीएपी मल बिक्री गरिरहेको अवस्थामा मलंगवा-७ गणेशियाका अभिनय राय र अभिनन्दन रायलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनीहरूसँग सोधपुछ गर्दा अनुमति बिना डीएपी मल प्रतिवोरा ३ हजार ५ सय रुपैयाँमा बिक्री गरिरहेको खुलेको जनाएको छ ।

पसलमा गरिएको खानतलासीका क्रममा ५० किलो तौलका चार बोरा डीएपी र एक बोरा युरिया मल बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुवैले उक्त मल मलंगवा-४ शिवसागर चोकस्थित एक पसलबाट प्रतिवोरा ३ हजार २ सय रुपैयाँमा खरिद गरी बिक्री गरिरहेको बयान दिएका थिए ।

त्यसपछि प्रहरीले शिवसागर चोकस्थित पसलका सञ्चालक मलंगवा-३ का राहुल गुप्तालाई पनि पक्राउ गरेको छ । गुप्ताको पसलबाट सात बोरा युरिया मल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले तीनै जनाविरुद्ध कालोबजारीसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *