सर्लाही, २० साउन । लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले प्रविधि र राइड-सेयरिङ सेवा इन्ड्राइभको प्रयोग गरी लागुऔषध कारोबार गर्दै आएको एक गिरोहका तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूको साथबाट ४३ ग्राम ब्राउन हेरोइन, दुईवटा डिजिटल तराजु, ११ थान मोबाइल फोन तथा नगद ५० हजार रुपैयाँ बरामद गरिएको ब्युरोले जनाएको छ ।
ब्युरोका अनुसार गिरोहले सप्तरीबाट भुजाको बोराभित्र लुकाएर ब्राउन हेरोइन काठमाडौं आउने हाइसमा पठाउने, त्यसलाई मोटरसाइकलमार्फत निगरानी गर्दै काठमाडौंसम्म ल्याउने र ग्राहकसँग इन्ड्राइभमार्फत रकम प्राप्त गरेपछि पुनः इन्ड्राइभ नै प्रयोग गरेर लागुऔषध डेलिभरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
डेलिभरीमार्फत प्राप्त लागुऔषध रिसिभ गर्ने व्यक्तिले काठमाडौंको गोंगबु–मित्रनगरस्थित एक गेस्ट हाउसमा बसेर ब्राउन हेरोइन बिक्री–वितरण गर्दै आएको प्रहरीले जनाएको छ ।
यस क्रममा प्रहरीले ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका-७ का ३४ वर्षीय हितबहादुर बस्नेत, सप्तरीको राजगढ गाउँपालिका-७ का १९ वर्षीय रामकृष्ण शर्मा तथा धनुषाको जनकनन्दिनी गाउँपालिका-३ का २१ वर्षीय धनञ्जय पासवानलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार हितबहादुर बस्नेतले गेस्ट हाउसबाट लागुऔषध बिक्री-वितरण गर्ने, रामकृष्ण शर्माले भक्तपुरमा बस्दै इन्ड्राइभमार्फत लागुऔषध पठाउने तथा धनञ्जय पासवानले रामकृष्णलाई ब्राउन हेरोइन उपलब्ध गराउने भूमिका निर्वाह गरेको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका तीनैजनाविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
ब्युरोले सार्वजनिक गरेको जानकारीअनुसार पक्राउ परेकामध्ये एकजना स्कुलबसका चालक रहेका छन् भने अर्का एकजना आइटी इन्जिनियरिङ अध्ययनरत विद्यार्थी हुन् ।
अनुसन्धानका क्रममा लागुऔषध खरिदकर्ता र विक्रेताबिच पाँचपटकसम्म कारोबार हुँदा पनि उनीहरू प्रत्यक्ष रूपमा आमने-सामने नभएको तथ्य खुलेको छ ।
प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले प्रविधि तथा राइड-सेयरिङ सेवाको दुरुपयोग गरी हुने लागुऔषध कारोबार नियन्त्रणका लागि निगरानी र अनुसन्धानलाई थप प्रभावकारी बनाइएको बताएका छन् ।
