सर्लाही, २० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान परिस्थितिमा पार्टी कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको छ ।
बुधबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टी प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा लालायित नभएको निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
अहिले पनि प्रदेश सरकारहरू कांग्रेस, एमाले र नेकपा मिलेर निर्माण गरून् भन्ने राप्रपाको धारणा रहेको उनले बताए ।
‘प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भएमा पार्टीको बृहत्तर हितलाई ध्यान दिइ उपयुक्त समयमा उपयुक्त निर्णय लिने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रदान गरिएको छ,’ उनले भने ।
पार्टीको निर्देशनबिना सत्ताकेन्द्रित कुनै गतिविधिमा सहभागी नहुन सबै प्रदेशको संसदीय दल र प्रदेशसभाका सांसदहरुलाई बैठकले निर्देश गरेको श्रेष्ठले बताए ।
राप्रपाको यो निर्णयले प्रदेश सरकार गठनमा प्रभाव पार्ने देखिएको छ । बागमती र गण्डकीमा राप्रपा निर्णायक छ । बागमतीमा राप्रपाको समर्थनबिना एमाले नेतृत्वको सरकार बन्न कठिन छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेबीच तीन बुँदे सहमति भएर बागमतीमा नयाँ सरकार गठनको गृहकार्य चलिरहेको छ ।
१२ सांसद रहेको राप्रपाले साथ नदिएसम्म बागमतीमा एमालेको सरकार बन्ने देखिँदैन ।
