सर्लाही, २१ साउन । सर्लाहीको लालबन्दी नगरपालिका-२, नवलपुर गैरीटोलमा विषालु सर्प डस्दा एक अढाई वर्षिया बालिकाको मृत्यु भएको छ ।

घरमा खेलिरहेका बेला गोमन सर्पले डसेर अढाई वर्षिया बालिका शिवानीकुमारी बैठाको मृत्यु भएको हो । मंगलवार दिउँसो खेलिरहेकी बालिका एक्कासी चिच्याएर रुन थालेपछि सर्पले डसेको आशंका गरी आमा र घरमा इन्टरनेट जोड्ने आएका युवकहरु मिलेर खोजी गर्दा गोमन सर्प फेला पारेका थिए ।

सर्पले डसेको पुष्टी भएपछि बालिकालाई उपचारका लागि लालबन्दी नगरपालिका–१, नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो ।

बालिकालाई यहाँ आधा घण्टाजति उपचार गर्दा पनि अवस्था झन गम्भीर बन्दै गएपछि स्वास्थ्यकर्मीले भेन्टिलेटरको सुविधा रहेको बर्दिवास वा जनकपुर रेफर गरेका थिए ।

बर्दिवास लगेर परीक्षण गर्दा बालिकाको मृत्यु भएको पुष्टी चिकित्सकले पुष्टी गरे । नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज एवं हेल्थ असिस्टेन्ट जगर्नाथ यादवले बालिकालाई विष चढिसकेर गम्भीर अवस्थामा ल्याइएकाले उपचार गर्न कठिनाई भएको बताए ।

उपचार केन्द्रको भेन्टिलेटर सञ्चालनमा नरहेकाले एन्टीस्नेक भेनम चलाएर बर्दिवास रेफर गरिएको यादवको भनाइ छ । बालिकाको मृत्युपछि परिवार, गाउँले र केही युवाहरु भएर नवलपुर सर्पदंश उपचार केन्द्रमा आइ उपचार केन्द्रको लापरवाहीका कारण बालिकाको मृत्यु भएको आरोप लगाएका थिए ।

सर्पदंश उपचार केन्द्रका स्वास्थ्यकर्मीले आफूहरुकहाँ भेन्टिलेटर लामो समयदेखि प्रयोगविहीन रहेको र एन्टिस्नेक भेनमको भरमा मात्र बालिकाको उपचार गर्न सम्भव नभएको भनी सम्झाएर पठाएका छन् ।

हरिवनका नगरप्रमुख रमेश बुढाथोकी, लालबन्दी-१ का वडाध्यक्ष हरिहर भट्टराई, उपचार केन्द्रका अध्यक्ष उद्धवप्रसाद पौडेललगायत भएर पनि सम्झाइबुझाइ गरेका छन् ।

नवलपुर सर्पदंश उपचार केन्द्रमा भेन्टिलेटर र आइसियूको सुविधा रहे पनि चलाउन जान्ने दक्ष जनशक्तिको अभावमा थन्काएर राख्नुपरेको हो ।

सर्लाही-१ की प्रतिनिधि सभा सदस्य नीतिमा भण्डारी कार्कीले केही समयअघि भेन्टिलेटर र आइसियू सञ्चालनका लागि स्वास्थ्य मन्त्री निशा मेहतालाई भेटरै ध्यानाकर्षण गराए पनि सुनुवाइ हुन सकेको छैन् ।

नवलपुर उपचार केन्द्र आफैले पनि भेन्टिलेटर सञ्चालनका लागि पालिका, प्रदेश र संघ सरकारकहाँ कयौँ पटक धाइसकेको तर सुनुवाई नभएको उपचार केन्द्रका अध्यक्ष उद्धवप्रसाद पौडेलले बताए ।

अहिले बर्खा लागेपछि सर्पदंशका घटना झनै बढेका छन् । साउन लागेदेखि मात्र नवलपुर सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका ९३ जना बिरामी आइसकेका छन् । हिजो एकै दिन १० जना बिरामी सर्पले डसेर उपचारका लागि पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *