सर्लाही, २२ साउन । लखन्देही खोलाको बाँध भत्किएपछि आएको बाढीले सर्लाहीको मलङ्गवा नगरपालिका र कौडेना गाउँपालिकाका करिब १५ सय बिघा धानखेत डुबानमा परेका छन् । भर्खरै रोपिएको धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन् ।

गत सोमबार राति आएको बाढीले कौडेना गाउँपालिका–५ छपकैयास्थित बाँध भत्काएपछि खोलाको पानी बस्ती र खेतमा पसेको हो । स्थानीयका अनुसार कौडेना–५ छपकैयामा करिब ८ सय बिघा, मलङ्गवा नगरपालिका–६ खुटौनामा ५ सय बिघा र वडा नं. ५ भाडसरमा ३ सय बिघा धानखेत डुबानमा परेको छ ।

DCIM\100MEDIA\DJI_0058.JPG

बाढीले खेतमात्र होइन, केही घर र गोठसमेत प्रभावित भएका छन् । चार दिनदेखि डुबान रहेकाले जनजीवन कष्टकर बनेको स्थानीयको भनाइ छ ।

भाडसरका मुमताज मिकरानीले बस्ती र खेत लगातार डुबानमा रहेकाले दैनिक जीवन प्रभावित भएको बताए । स्थानीय मोहम्मद समिम अख्तरका अनुसार सदरमुकाम मलङ्गवासँगको सडक समेत प्रभावित भएको छ । “बाटोमाथिबाटै पानी बगिरहेको छ । भारतीय सीमावर्ती बजार पुग्नसमेत कठिन भएको छ,” उनले भने ।

बाढीले कटान गरेको छपकैयामा बिहीबार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले संयुक्त रूपमा अस्थायी तटबन्ध निर्माणको काम थालेका छन् । बोरामा बालुवा भरेर भत्किएको बाँध थुन्ने प्रयास भइरहेको छ ।

छपकैयाका किसान मोहम्मद इलयास खानले आठ कठ्ठामा रोपेको धान डुबानमा परेकाले सड्ने चिन्ता बढेको बताए । “भर्खरै रोपेको धान पानीमुनि छ । यसपालि धान नै नहुने हो कि भन्ने डर लागेको छ,” उनले भने ।

उनका अनुसार लखन्देही खोलाले वर्षेनी कुनै न कुनै स्थानमा बाँध भत्काउने गरेको छ । “दश वर्षदेखि यही समस्या भोगिरहेका छौं । खेतमात्र होइन, घरसमेत डुबानमा पर्छ,” उनले गुनासो गरे ।

स्थानीय किसान रामकिशुन यादवले दीर्घकालीन समाधानका लागि बोल्डर र जालीसहितको बलियो तटबन्ध निर्माण गर्नुपर्ने बताए । “गत वर्ष पनि बाँध भत्किँदा डेढ बिघा धानबाली नष्ट भयो । आश्वासन मात्रै पाइयो, क्षतिपूर्ति पाएन,” उनले भने ।
कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारले लखन्देहीको कटान र डुबान नयाँ समस्या नभएको बताए । “हरेक वर्ष कुनै न कुनै ठाउँमा कटान हुन्छ ।

गाउँपालिकाले आफ्नो क्षमताअनुसार नियन्त्रणका काम गरेको छ,” उनले भने, “तर दीर्घकालीन समाधानका लागि ठूलो बजेट आवश्यक छ । त्यसका लागि सम्बन्धित निकायसँग पहल गरिरहेका छौं ।”

उनका अनुसार बाँध भत्किएलगत्तै नियन्त्रणको प्रयास थालिएको छ र सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा तटबन्ध निर्माण भइरहेको छ ।

मलङ्गवा–५ भाडसरका श्याम रायले बाँध निर्माण भए पनि आफूहरूले कहिल्यै सुरक्षित महसुस गर्न नसकेको बताए । “पन्ध्र वर्षदेखि बाँध भत्किने र गाउँ डुबानमा पर्ने क्रम रोकिएको छैन,” उनले भने, “खेतीपातीमा पटक–पटक क्षति हुँदा उत्पादनसमेत घट्दै गएको छ ।”

भाडसरकै गुलाम रब्बानीले तीन बिघामा रोपेको धान डुबानमा परेकाले पुनः रोपाइँ गर्नुपर्ने अवस्था आउन सक्ने बताए । “धान बचेन भने फेरि बिउ किन्नुपर्छ । किसानका लागि यो ठूलो समस्या हो,” उनले भने ।

स्थानीय जमशेद मियाँका अनुसार वर्षेनी आउने बाढीले घर र खेती दुवै प्रभावित हुने गरेका छन् । “पानी निकासको उचित व्यवस्था नहुँदा समस्या दोहोरिरहन्छ,” उनले भने, “यति ठूलो डुबान हुँदा पनि सरोकारवाला निकायको उपस्थिति देखिएको छैन ।”

मलङ्गवा नगरपालिका–५ का वडाध्यक्ष मोहम्मद जुल्फकार अलीका अनुसार वडामा मात्र तीन सय बिघाभन्दा बढी खेत डुबानमा परेको छ ।

त्यस्तै, वडा नं. ६ का वडाध्यक्ष राम कैलाश यादवले पाँच सय बिघाभन्दा बढी खेत प्रभावित भएको जानकारी दिए ।
“किसानहरूले भर्खरै रोपेको धानबाली पानीमा डुबेको छ ।

धेरै ठाउँमा बाली कुहिने अवस्था छ,” उनले भने, “लखन्देहीले वर्षेनी क्षति पु¥याए पनि समस्या समाधानका लागि अहिलेसम्म ठोस काम हुन सकेको छैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *