सर्लाही, २३ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका छन् ।
स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसमा आज भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा सभापति थापाले साउन २४ गते सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका हुन् ।
उनले पार्टीलाई मौलिक इतिहास, त्याग र जगमा फर्काउँदै नयाँ ढंगले अघि बढाइने पनि बताए । सत्ताका लागि कसैसँग सम्झौता नगर्ने उनको भनाइ थियो ।
कांग्रेसले असोज तेस्रो साता महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
पार्टीको आधिकारिताबारे सर्वोच्च अदालतको पछिल्लो आदेशका कारण कोही पनि विचलित नहुन थापाले आग्रह गरे ।
केन्द्रीय समितिको बैठकपछि महाधिवेशन प्रक्रिया अगाडि बढ्छ, सभापति थापाले भने ।
कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बस्दैछ । केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न आज पदाधिकारी बैठक बसिरहेको छ ।
