सर्लाही, २६ साउन । वर्षा, पहिरो तथा नदी कटानका कारण देशका विभिन्न जिल्लाका ७ सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार काभ्रे–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने यातायात सञ्चालन हुने जनाइएको छ ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइएको छ ।
इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका–९ राजदुवालीमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक रहेको जनाइएको छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलोमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। भोटेकोशी–२ कोदारीमा ढुंगा, माटो र लेदोसहितको पहिरो खसेको तथा लिपिङमा सडक भासिएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ ।
रसुवाको पासाङ ल्हामु सडकखण्ड अन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले सडकको मुनिबाट कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
यसैगरी, रुकुम पश्चिमको भेरी करिडोर अन्तर्गत आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा ढुंगा, माटो र लेदोसहितको पहिरो खसेपछि जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ।
बाजुराको कर्णाली करिडोर अन्तर्गत जगन्नाथ गाउँपालिका–५ भुकाखोलामा पहिरो खसेपछि कालिकोट–हुम्ला सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण सडकमा पहिरो तथा बाढीको जोखिम कायमै रहेकाले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
