सर्लाही, २८ साउन । मधेश प्रदेशका जिल्लामा चर्को घाम र बढ्दो गर्मीले जनजीवन नराम्ररी प्रभावित भएको छ । आकाशमा बादल लाग्ने र झम झम वर्षा हुने समय भए पनि पछिल्ला दिनमा खुला आकाश, चर्को घाम र सुक्खा मौसमका कारण आमसर्वसाधारणदेखि किसान, विद्यार्थी र स्वास्थ्य क्षेत्रसम्म प्रभावित भएका छन् ।

सर्लाहीमा दुई दिनदेखि उखरमाउलो गर्मी हुँदा स्थानीय हायलकायल बनेका छन् । सोमबार बिहानसम्म बेला बेलामा वर्षा भई शीतल नै रहेकोमा दुई दिनदेखि भने उज्यालो हुँदादेखि नै रात नपरुन्जेलसम्म एकटन्कारले टन्टलापुर घाम लगेर अचाक्ली गर्मी हुँदा स्थानीय प्रभावित बनेका हुन् । 

मलंगवामा बिहान ११:०० बजेको तापक्रम ३६ डिग्री सेल्सियस मापन भए पनि मोबाइलको ‘वेदर एप’ ले अनुभूति हुने तापक्रम ४७ डिग्री सेल्सियस देखाएको थियो ।

मलंगवा नगरपालिका-१० का स्थानीय बिनाेद पंडितले दुई दिनदेखिको गर्मीका कारण सडक, बजार एकाएक सुनसान बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यासलाग्दो गर्मीले गर्दा धेरै मानिस घरबाहिर ननिस्कँदा सडक, बजारमा चहलपहल ह्वात्तै घटेको छ ।”

गर्मीका कारण विद्यालय जाने विद्यार्थी, खेतबारीको काम गर्नुपर्ने किसान र दैनिक मजदुरीमा निस्कनुपर्ने मजदुर बढी प्रभावित बनेका छन् ।

गर्मी छल्न मानिस चोक, चौतारामा सुस्ताएर बसिरहेको देखिन्छ । सदरमुकाम मलंगवा निवासी शिवचन्द्र चौधरीले उत्तरी भेगको तुलनामा दक्षिणी भेगमा अझ बढी गर्मी महसुस भइरहेको जानकारी दिनुभयो । 

गर्मीका कारण पशुपन्छीको स्याहार तथा आहारा जुटाउन मुस्किल रहेको किसानहरुले बताउनुभयो । अत्यधिक गर्मीका कारण अधिकांश मानिसमा टाउको दुख्ने, चक्कर लाग्ने, शरीर आलस्य हुने, एलर्जी हुनेलगायतका स्वास्थ्य समस्या बढेको नगर अस्पताल लालबन्दीका प्रमुख एवं मेडिकल सुपरिन्टेन्डेन्ट डा. चन्दन चौधरीले बताउनुभयो । अहिले भाइरल ज्वरो र टाइफाइडको समस्या भएका बिरामी पनि धेरै आउने गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *