सर्लाही, २९ साउन । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले देशभरका सार्वजनिक संस्था तथा सरकारी निकायमाथि हस्तक्षेप भइरहेको आरोप लगाएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद सिंहले सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको बताएका हुन् । उनले सांसदहरूका अभिव्यक्तिले समेत संसदकै बेइज्जती भइरहेको टिप्पणी गरेका छन् ।

‘देशैभरका सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ, ‘उनले भनेका छन्, ‘सांसदहरूको वक्तव्य यस्तो छ कि सम्मानित संसदकै बेइज्जती भइरहेको छ ।’

व्यापारीहरूको धरपकडले व्यवसायीहरू त्रसित रहेको पनि सिंहले बताएका छन् । उनले सरकारको परराष्ट्र नीतिमाथिसमेत प्रश्न उठाउँदै अन्तर्राष्ट्रियस्तरमा नेपालको विश्वसनीयता घटिरहेको दाबी गरेका छन् । ‘परराष्ट्र नीति त झन् यस्तो कि कसैले विश्वास गरिरहेको छैन,’ सिंहले लेखेका छन् ।

उनले वर्तमान गतिविधिले देशलाई समृद्धि र सुशासनतर्फ लैजाने हो कि राज्यलाई अझ पछाडि धकेल्ने हो भन्ने प्रश्न गरेका छन् । ‘के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ ? सोच्ने बेला भएको छैन ?’ उनले प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *