काठमाण्डाैं, ३१ साउन । इरानसँगको लामो सैन्य सङ्घर्षका कारण अमेरिकी नौसेनामाथि दबाब बढिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानमा सैन्य कारबाहीलाई प्राथमिकता दिइरहेका बेला अमेरिकाले एसिया–प्रशान्त क्षेत्रमा रहेको आफ्नो अन्तिम प्रमुख विमानवाहक युद्धपोत पनि पश्चिम एसियातर्फ पठाउने तयारी गरेको छ ।
प्रशान्त क्षेत्रबाट निस्किएर यूएसएस जर्ज वासिङ्टनले पश्चिम एसियामा यूएसएस अब्राहम लिङ्कनलाई प्रतिस्थापन गर्ने अपेक्षा गरिएको छ ।
लामो समयदेखि समुद्रमा तैनाथ लिङ्कनका चालक दलमा थकान, मानसिक स्वास्थ्य र आपूर्तिसम्बन्धी समस्या बढेपछि उसको तैनाथी अवधि समेत लम्ब्याइएको छ ।
यससँगै केही समयका लागि पश्चिमी प्रशान्त क्षेत्रमा अमेरिकी विमानवाहक युद्धपोत नहुने अवस्था देखिएको छ । अमेरिकी नौसेनाले आगामी महिनामा अर्को विमानवाहक युद्धपोत पठाएमा यो अवस्था छोटो समयमै बदलिन सक्छ ।
अमेरिकाको ध्यान पश्चिम एसिया र पश्चिमी गोलार्धतर्फ केन्द्रित हुँदा चीनले पश्चिमी प्रशान्तमा आफ्नो प्रभाव विस्तार गर्न थप अवसर पाउन सक्ने सुरक्षा विश्लेषकहरूले बताइरहेका छन् ।
चीनले यसै साता इन्डोनेसियासँग नौसैनिक अभ्यास गरेको छ भने जापान र फिलिपिन्ससँगको विवादमा पनि पछिल्लो समय कडा गतिविधि देखाएको छ ।
यसै महिनामा चीनले दक्षिण चीन सागरको स्कारबोरो शोल नजिक सैन्य अभ्यास गरेको थियो । जापानको दक्षिणी क्षेत्रमा पनि चिनियाँ युद्धपोतले गत महिना प्रत्यक्ष फायर अभ्यास गरेको थियो ।
यद्यपि, अमेरिकी विमानवाहक युद्धपोत प्रशान्त क्षेत्रबाट हट्दैमा चीनले तत्काल ताइवानमाथि आक्रमण गर्ने सम्भावना नरहेको विश्लेषकहरूको भनाइ छ । तर अमेरिकी युद्धपोतको अनुपस्थितिले चीनलाई आफ्नो सैन्य क्षमता प्रदर्शन गर्ने अवसर भने दिन सक्ने उनीहरूको आकलन छ ।
