सर्लाही । सन् २०२६ को सबैभन्दा ठूलो भारतीय फिल्म मानिएको ‘रामायण’ चीनमा नयाँ शीर्षकका साथ रिलिज हुने भएको छ । 

४ हजार करोड भारुको लागतमा निर्माण गरिएको यस फिल्मलाई सोनी पिक्चर्सले विश्वभर वितरण गर्नेछ ।

ठुलो लगानी रहेको यस फिल्मलाई चीनमा प्रदर्शन गराउनु निर्माताहरूका लागि ठूलो उपलब्धि मानिएको छ । प्राप्त रिपोर्ट अनुसार चीनमा यो फिल्म ‘रामायणः द लेजेन्ड अफ प्रिन्स चार्मिङ’ शीर्षकमा रिलिज हुने तयारीमा छ ।

यद्यपि निर्माताहरूले यसबारे आधिकारिक घोषणा गर्न बाँकी छ । केही समयअघि सार्वजनिक गरिएको यसको अङ्ग्रेजी ट्रेलरलाई विदेशी दर्शकले रुचाएका छन् । 

भारतीय फिल्मका लागि चीन आकर्षक बजार मानिए पनि त्यहाँ रिलिज हुनु सहज छैन। अहिलेसम्म सीमित भारतीय फिल्म मात्रै चीनमा रिलिज भएका छन् ।

चीनमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्म आमिर खानको ‘दङ्गल’ हो, जसले त्यहाँ १ हजार १ सय करोड भारु कमाएको थियो। ‘दङ्गल’ का निर्देशकसमेत रहेका नितेश तिवारीले नै ‘रामायण’ को निर्देशन गरेका हुन्।

फिल्म नोभेम्बर ६ मा विश्वभर रिलिज हुनेछ भने भारतमा त्यसको दुई दिनपछि अर्थात् नोभेम्बर ८ मा तिहारको अवसर पारेर प्रदर्शनमा आउनेछ ।

फिल्ममा रणवीर कपूरले भगवान् राम, साई पल्लवीले सीता र यशले रावणको भूमिका निर्वाह गरेका छन्। यसका साथै सनी देओल, विवेक ओबेरोय, लारा दत्ता, अरुण गोबिल, रवि दुबे, काजल अग्रवाल र रकुल प्रित सिंह लगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *