काठमाडौं, ०१ भदाै । इन्स्टाग्राममा ‘दिमागी नक्सल पार्टी’ नामको एक नयाँ अकाउन्ट अचानक चर्चित बनेको छ। यो अकाउन्ट सुरु भएको केही दिनमै १ लाख ७० हजारभन्दा बढी फलोअर्स पुगेका छन् ।
अहिले यो पेज इन्स्टाग्राममा उपलब्ध छैन । बन्द हुनुअघि यस पेजले आफूमाथि धेरै साइबर हमला भएको दाबी गरेको थियो ।
यो अकाउन्टको नाम @dimaginaxalparty रहेको छ । यसले आफूलाई ‘दिमागी नक्सल पार्टी’को आधिकारिक पेज भनेको छ। यसको नारा ‘सोच्नुहोस्, अनुसन्धान गर्नुहोस्, प्रतिरोध गर्नुहोस्’ रहेको छ ।
यसको बायोमा संस्थापकको नाम ‘ए दिमागी इन्डियन’ र सह-संस्थापकको नाम ‘५६ इन्च का’ राखिएको छ । यसले प्रयोगकर्तालाई एक्स अकाउन्ट @DNJP_India तिर पनि निर्देशित गरेको देखिन्छ ।
सोमबारसम्म यस पेजमा ६५ वटा पोस्ट थिए। यसले ३५ वटा अकाउन्टलाई फलो गरेको थियो । यो अकाउन्ट अगस्ट महिनामा बनाइएको हो। यो अकाउन्ट कसले चलाएको हो भन्ने कुरा खुलेको छैन ।
यस अकाउन्टले धेरै चर्चित व्यक्तिहरूलाई फलो गरेको छ । ती व्यक्तिहरूमा कमेडियन कुणाल कामरा, युट्युबर ध्रुव राठी, अभिनेता प्रकाश राज, फिल्म निर्माता अनुराग कश्यप, अभिनेत्री सोनाक्षी सिन्हा, कमेडियन श्याम रंगीला, अभियन्ता सोनम वाङचुक र पत्रकार रविस कुमार रहेका छन् । यसले सिजेपी नामको संस्थालाई पनि फलो गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता दिवसको सम्बोधनमा ‘दिमागी नक्सल’ शब्द प्रयोग गरेका थिए। त्यसको केही दिनपछि यो अकाउन्ट देखिएको हो ।
मोदीले लालकिल्लाबाट बोल्दै हतियारधारी नक्सलवाद जंगलबाट हटेको बताएका थिए । उनले ‘दिमागी नक्सल’हरू अझै रहेको बताएका दिएका थिए ।
उनले माओवादी सोच भएका मानिसहरू सरकारी निकायमा बसेर नीतिहरूमा प्रभाव पारिरहेको बताएका थिए । उनले त्यस्ता मानिसलाई चिन्न र अलग गर्न आग्रह गरेका थिए ।
यो भनाइपछि भाजपा र विपक्षी नेताहरूबीच राजनीतिक बहस सुरु भएको छ । पूर्व गृहमन्त्री पी. चिदम्बरमले एक्समा लेखेका छन्, ‘मलाई दिमागी नक्सल हुनुमा गर्व छ ।’ उनले यो शब्दलाई ‘अर्बन नक्सल’ र ‘टुक्डे टुक्डे ग्याङ’ जस्तै नयाँ नाम भनेका छन् ।
केन्द्रीय मन्त्री किरेन रिजिजुले प्रधानमन्त्री मोदीले विपक्षी नेताहरूलाई ‘दिमागी नक्सल’ नभनेको स्पष्ट पारेका छन्। उनले माओवादीलाई समर्थन गर्ने, संविधान अस्वीकार गर्ने र देश टुक्र्याउन खोज्नेहरूलाई यो शब्द प्रयोग गरिएको बताएका छन्।
यसअघि ‘कक्रोच जनता पार्टी’ नामको अर्को अकाउन्ट पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो। त्यसपछि यो नयाँ अकाउन्ट अगाडि आएको हो । कक्रोच जनता पार्टीले सरकारी विद्यालयको अवस्था सुधार गर्न ‘स्कुल ठीक करो’ अभियान घोषणा गरेको छ ।
