सर्लाही, ०२ भदाै । हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत वीरगन्ज, पर्साको स्कारपियो दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
मङ्गलबार बिहान करिब ७ बजे काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा उच्च अदालत वीरगन्जका मुख्य न्यायाधीश, रजिस्ट्रार र चालकसहित छ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई महिला र चार पुरुष घाइते भएका छन् । घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर र अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाएको थियो । थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो ।
दुर्घटनामा घाइते हुनेहरूको पूर्ण विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको टोलीसमेत पुगेको थियो ।
दुर्घटनामा परेको स्कारपियो घटनास्थलमै रहे पनि सडकमा यातायात भने सुचारु रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
