सर्लाही, ०२ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले आफ्ना सांसदहरूलाई बैठकमा अनुपस्थित हुने वा बैठक छाड्नुपर्ने अवस्थामा आवेदन अनिवार्य गरेको छ ।
कारणवश संसद् बैठकमा उपस्थित हुन नसकेमा, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने भएमा, उपस्थित भएर बैठक बिचमै छाड्नुपर्ने भएमा वा बैठकको बिचमा बाहिर गएर पुनः फर्किनुपर्ने भएमा ‘संसद् बैठक अनुपस्थित आवेदन’ फाराम अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले बताए ।
बुर्लाकोटीले सांसदहरूलाई पठाएको निर्देशनमा भनिएको छ, ‘कारणवश संसद् बैठकमा उपस्थित हुन नसकेमा, बैठकमा ३० मिनेटभन्दा ढिलो उपस्थित हुने अवस्थामा, उपस्थित भएर बैठक बिचमै छोड्नुपर्ने भएमा वा बैठकको बिचमा बाहिर गई फर्किनुपर्ने भएमा संसद् बैठक अनुपस्थित आवेदन फाराम अनिवार्य पेस गर्न निर्देशन गरिन्छ ।’ रास्वपाले संसद् बैठकमा सांसदहरूको उपस्थिति र सहभागितालाई थप व्यवस्थित बनाउन यस्तो व्यवस्था गरेको हो ।
