सर्लाही, ०३ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी संसदीय दलको बैठक बोलाएका छन् ।
बैठक अहिले बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ ।
बैठकमा मन्त्रीहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
संसद्मा सांसदहरूको प्रस्तुति बिग्रिँदै गएपछि तथा उनीहरू गयल हुन थालेपछि सभापति रवि सक्रिय भएका हुन् ।
‘सभापतिले नै अग्रसरता लिएर बैठक राख्नुभएको हो’, रास्वपाका पदाधिकारीसमेत रहेका एक सांसदले बुधबार बिहान भने, ‘संसद्मा हाम्रो प्रस्तुति, उपस्थितिका विषयमा केही निर्देशन दिनुहुन्छ ।’
खासमा संसदीय दलको बैठक राख्ने काम प्रधानमन्त्रीसमेत रहेका रास्वपा संसदीय दलका नेता वालेन्द्र शाह (बालेन) को हो । तर उनी अहिलेसम्म एकपटक मात्र संसदीय दलको बैठकमा सहभागी भएका छन् ।
यो बैठकमा पनि बालेन उपस्थित हुने सम्भावना नभएको रास्वपा नेताहरू बताउँछन् ।
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई यही भदौ १० गते सांसदले उठाएका प्रश्नको जवाफ दिन संसद्मा बोलाएका छन् ।
यही परिप्रेक्ष्यमा रास्वपा सभापति लामिछानेले संसदीय दलभित्र पनि भूमिका बढाउदै लगेका हुन् ।
आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि रास्वपा सभापति लामिछानेले संसदीय दलको बैठक राख्न लागेका हुन् ।
