सर्लाही, ०३ भदाै । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठन भएयता सरकारी कार्यालयमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनुवाइको प्रक्रिया तीव्र पारिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा दर्ता भएका एक हजार २९८ उजुरीमध्ये एक हजार ११४ अर्थात् ८५.८२ प्रतिशत फछ्र्यौट भएका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.७२ प्रतिशत विन्दुले बढी हो ।
केन्द्रका अनुसार विसं २०८१ चैतदेखि २०८२ साउनसम्म ५५६ वटा उजुरी दर्ता भएकामा ४१२ अर्थात् ७४.१० प्रतिशत फछ्र्यौट भएका थिए ।
सार्वजनिक सेवा प्रवाहमा देखिएको ढिलासुस्ती र अनुशासनहीनता अन्त्य गर्न प्रधानमन्त्री शाहको निर्देशनमा सतर्कता केन्द्रले सरकारी कार्यालयको अनुगमन तथा कारबाहीलाई पनि तीव्रता दिएको छ ।
गत वर्षको चैतदेखि साउनसम्म ३१८ वटा सरकारी कार्यालयको अनुगमन गरिएको थियो । त्यस क्रममा आचारसंहिता तथा समय पालना नगर्ने दुई हजार २१३ जना र तोकिएको पोशाक नलगाउने ५६२ जना गरी दुई हजार ७७५ जना कर्मचारीले अनुशासन उल्लंघन गरेको पाइएको थियो ।
तर, यस वर्ष सोही अवधिमा अनुगमन गरिएका कार्यालयको संख्या झन्डै तीन गुणाले बढाएर ९२४ पुर्याइएको केन्द्रले जनाएको छ ।
अनुगमनका क्रममा आचारसंहिता तथा समय पालना नगर्ने १० हजार २६८ जना, तोकिएको पोशाकमा उपस्थित नभएका ६४५ जना र कार्यकक्षमा नभेटिएका ९१ जना गरी ११ हजार चार जना कर्मचारी अनुशासन उल्लंघनमा परेको पाइएको छ ।
सतर्कता केन्द्रले अनुशासन उल्लंघन गर्ने सबै कर्मचारीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ ।
सरकारी सेवा प्रवाहलाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउन केन्द्रले अनुगमन तथा उजुरी फछ्र्यौटलाई प्राथमिकतामा राखेको छ ।
सरकारी निकायमा भ्रष्टाचार भएको, कर्मचारीले आचारसंहिता पालना नगरेको वा शंकास्पद सम्पत्ति रहेकोबारे सूचना केन्द्रको हटलाइन नम्बर ०१४२००३४५ मा फोन गरेर दिन सकिने जनाइएको छ ।
