सर्लाही, ०३ भदाै । मधेश प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका नवौंदेखि एघारौं तहसम्मका १४ जना कर्मचारीलाई दरबन्दी रहेकै कार्यालयमा काज फिर्ता गरेको छ ।

प्रदेश सरकारले लामो समयदेखि दरबन्दी रहेको भन्दा अन्य कार्यालयमा काजमा कार्यरत कर्मचारीलाई दरबन्दी भएको ठाउँमै फर्काउने निर्णय गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार गरेको काज फिर्ता निर्णयमा स्वास्थ्य शिक्षा प्रशासक एघारौं तहका सुरोज चन्द्र न्यौपानेको काज फिर्ता गरेको छ ।

काजमा आएर स्वास्थ्य निर्देशनालय मधेश प्रदेश कार्यालय सपहीका निर्देशक रहेका उनलाई दरबन्दी भएको प्रदेश स्वास्थ्य तालिम केन्द्र, पथलैयामा काज फिर्ता गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार वरिष्ठ स्वास्थ्य प्रशासकतर्फका दशौं तहका डा. नवलकिशोर झालाई स्वास्थ्य निर्देशनालय, सपहीमा काज फिर्ता गरिएको छ । निर्देशनालयमा दरबन्दी रहेका उनी काजमा स्वास्थ्य कार्यालय सर्लाहीमा प्रमुख थिए ।

इन्टर्नल मेडिसिन तर्फका डा. विपिनकुमार झालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय फर्काइएको छ । कार्यालयको अतिरिक्तमा राखिएका उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काजमा कार्यरत थिए ।

प्रादेशिक अस्पताल गौर, रौतहटमा दरबन्दी रहेका जनरल फिजिसियन डा. सञ्जीतकुमार झा, बालरोग विशेषज्ञ डा. रवीन्द्रकुमार साह, रेडियोलोजिस्ट डा. गिरीरञ्जन प्रधान, एनेस्थेसियोलोजिस्ट डा. रौशनकुमार साह र मनोचिकित्सक डा. दिव्यांशु झालाई प्रादेशिक अस्पताल गौरमा काज फिर्ता गरिएको छ ।

दरबन्दी गौर अस्पतालमा रहेका उनीहरू काजमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत्त थिए ।

त्यसैगरी प्रादेशिक अस्पताल मलंगवा, सर्लाहीमा दरबन्दी रहेका बालरोग विशेषज्ञ डा. जितेन्द्र जयसवाल र गाइनोक्लोजिष्ट डा. बृजमोहनकुमार रजकलाई पनि सम्बन्धित दरबन्दी कायम रहेको कार्यालयमा फिर्ता गरिएको छ । उनीहरू प्रादेशिक अस्पताल जनकपुरमै लामोसमयदेखि काजमा कार्यरत थिए ।

प्रादेशिक अस्पताल कलैया, बारामा दरबन्दी रहेका बालरोग विशेषज्ञ डा. विकासकुमार साह र एनेस्थेसियोलोजिस्ट डा. संदीप शर्मालाई पनि काज फिर्ता गरिएको छ । उनीहरू पनि प्रादेशिक अस्पताल जनकपुरमा काजमा कार्यरत थिए ।

यस्तै, प्रादेशिक अस्पताल सिरहामा दरबन्दी रहेका जनरल मेडिसिन तर्फका डा. कृष्णकुमार यादव र अर्थोपेडिक सर्जन डा. रवि श्रीवास्तवलाई समेत दरबन्दी भएकै स्थानमा फर्काइएको छ । यादव प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत थिए भने श्रीवास्तव डा. श्रीवास्तव जलेश्वरमा थिए ।

विभिन्न स्थानमा दरबन्दी भएपनि पछिल्लो समय प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकहरू बस्न बढी रुचाउने गरेका छन् । यही कारण अन्यत्रबाट काजमा आएर बस्ने गरेको देखिन्छ ।

त्यस्तै, अन्यत्र दरबन्दी भएपनि मालदार अड्डामा काजमा गएर बस्ने प्रवृत्ति पनि रहेको छ । यी विकृतिहरूलाई हटाउने प्रयास स्वरूप दरबन्दी भएकै स्थानमा कामकाज गर्ने गरी काजफिर्ताको नीति लिएको सरकारको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *