सर्लाही, ०३ भदाै । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ ।
सिंहदरबारमा रहेकाे संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकले मुख्य सचेतक कविन्द्र बुर्लाकाेटीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
बैठकको निर्णयबारे जानकारी दिँदै संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको विधानलाई आवश्यकताअनुसार परिमार्जन गर्न ७ दिनको समयसीमा तोकेर कार्यदल बनाइएको बताउनुभयो ।
कार्यदलले तयार पार्ने कार्यविधिले सांसदहरूको सदनमा उपस्थिति, संसदीय मर्यादा, जिम्मेवारीबाेध र कानून निर्माण प्रक्रियामा उनीहरूको भूमिकालाई थप सशक्त र जनपक्षीय बनाउने पार्टीकाे विश्वास छ ।
पार्टी सभापतिसहित शीर्ष नेता र मन्त्रीहरूको उपस्थितिमा भएको बैठकमा सरकारका गतिविधि र मन्त्रालयगत काम कारबाहीबारे पनि छलफल भएको छ ।
बैठकमा सभापति लामिछानेले संसद्मा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गर्नुभयाे ।
पछिल्लो समय संसद्मा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको र आफ्ना मागहरू सम्बोधन नहुँदा सांसदहरूले पनि अमर्यादित वा रुखो व्यवहार देखाउने गरेको भनी आलोचना भइरहेको सन्दर्भमा यो बैठक आयोजना भएको हो ।
छलफलका क्रममा नागरिकका मुद्दालाई संसद्मा कसरी प्रभावकारी र मर्यादित ढङ्गले प्रस्तुत गर्ने भन्ने विषयमा पनि छलफल भएको छ । संसद्मा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिनुभएको छ ।
