सर्लाही, ०४ भदाै । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ भक्तिनगरमा तीन वर्षीया बालिकाको शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट बालिकालाई चकलेटको प्रलोभन देखाएर लगिएको र घृणित कार्यपछि हत्या गरिएको खुलेको छ ।
साउन २ गते साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र सानी बालिका मृत अवस्थामा फेला परेकी थिइन् ।
लगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब निरीक्षक दिलिप क्षेत्रीको कमाण्डमा ‘सोको’ सहितको टोली घटनास्थलमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा थप सोको टोली परिचालन गरी घटनास्थल सुरक्षित राख्दै अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा उक्त शव जितपुर सिमरा उपमहानगरपालिका–२ दसधुरी बस्ने तीन वर्षीया बालिकाको रहेको खुलेको छ ।
प्रहरीका अनुसार उनी साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन् । बालिकालाई खोज्ने क्रममा अनुसन्धान गर्दै जाँदा ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक सुमन थापाले चकलेट दिने भनेर बालिकालाई फकाई घटनास्थलसम्म लगेको खुलेको जिल्ला प्रहरी कार्यालय बाराको भनाई छ ।
मंगलबार साँझ बारा प्रहरीले कुकुरसहितको टोली ल्याएर अनुसन्धान सुरु गरेको थियो । त्यतिबेला सहचालक थापा पनि घटनास्थलमै शव खोज्न प्रहरीलाई सघाइ झैं गरिरहेका थिए । सोही क्रममा कुकुरले उनीतिर संकेत गरेपछि घटनास्थलबाटै सुमनलाई प्रहरीले हिरासतमा लियो ।
थापाले बलात्कारपछि हत्या गरेको स्वीकारेको प्रहरीको भनाइ छ । बारा प्रहरीका अनुसार घटनामा म्याजिक चालकसमेतको संलग्नता देखिएपछि जितपुर सिमरा उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय प्रमोद चौधरीलाई पक्राउ गरिएको छ ।
चौधरीविरुद्ध जबर्जस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनामा अन्य व्यक्तिको संलग्नता भए÷नभएको विषयमा समेत प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको थप तथ्य प्रमाण संकलन गर्न नेपाल प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत परिचालन गरेको जनाएको छ ।




