सर्लाही । ओपनएआईले म्याकका लागि च्याटजीपीटी डेस्कटप एपमा ‘एप्पल मेसेजेज’ प्लगइन सार्वजनिक गरेको छ ।

यसबाट प्रयोगकर्ताले आफ्नो आइमेसेज, एसएमएस र आरसीएस कुराकानी खोज्न, सारांश बनाउन, जवाफ तयार गर्न सक्छन् । प्रयोगकर्ताले स्वीकृति दिएपछि सन्देश पठाउन पनि सक्छन् ।

यो सुविधा अहिले च्याटजीपीटी वर्क र कोडेक्स प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । एप्पल सिलिकन चिप भएका म्याकमा मात्र चल्छ । इन्टेल म्याकमा भने काम गर्दैन ।

यसले कसरी काम गर्छ त ? सेटअपका क्रममा प्रयोगकर्ताले म्याकको फुल डिस्क एक्सेस, कन्ट्याक्ट्स र अटोमेसन अनुमति दिनुपर्छ ।

ओपनएआईले यो प्लगइनले प्रयोगकर्ताको म्यासेजहरू आफैं जम्मा गरेर वा फाइल बनाएर नराख्ने बताएको छ । प्रयोगकर्ता आफैंले कुनै कुराकानी खोज्न वा पत्ता लगाउन भन्नुभयो भने मात्र यसले पुराना म्यासेजहरू पढ्छ ।

यद्यपि, ब्लुमबर्गलगायतका स्रोतहरूले फुल डिस्क एक्सेस दिँदा एपले म्याकका अन्य धेरै फाइलहरूमा पनि पहुँच पाउने भएकाले गोपनीयता र सुरक्षामा चिन्ता व्यक्त गरेका छन् ।

ओपनएआईले भने यो फिचर स्थानीय रूपमा (लोकल होस्ट) चल्ने, प्रयोगकर्ताको पूर्ण नियन्त्रणमा रहने र मेसेज पठाउन स्वीकृति अनिवार्य हुने स्पष्ट पारेको छ ।

यदि प्रयोगकर्तासँग मिल्दो म्याक छ र च्याटजीपीटी वर्क वा कोडेक्स चलाउँदै छन्  भने, उनीहरुले एपको प्लगइन्स ट्याबबाट यो फिचर अन गर्न सक्नेछन् । तर, सेटअप गर्दा दिने एक्सेसहरू र मेसेज पठाउँदा अपनाउने सावधानीहरूप्रति भने विशेष ध्यान दिनु उचित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *