सर्लाही, ०६ भदाै । गत बुधबार बिहान ११ बजेबाट बन्द भएको वीरगञ्ज–पथलैया सडक खण्ड आज (शनिबार) चौंथो दिन पनि ठप्प छ ।
तीन बर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि भन्दै सडकमा उत्रिएका स्थानीयबासीले वीरगञ्ज–पथलैया सडकको सिमरामा सडकमै टेण्ट टाँगेर प्रदर्शन गरिरहेका छन् ।
बिहीबार राति स्थानीय प्रशासनले केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँच बुँदे सहमति गर पनि मृतक बलिकाकी परिवारले उक्त सहमति अमान्य रहेको बताएको थियो ।
अहिले पनि स्थानीयले सडक धर्ना जारी राखेका छन् ।
बालिकाका परिवारलाई साथ दिन जीतपुरसिमरा उपमहानगरपालिका सहित बाराका विभिन्न क्षेत्रबाट मानिसहरू सडकमा जम्मा भैरहेका छन् ।
सुरुमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीले घटना भएको भन्दै उनको सरुवा मागेका स्थानीयबासीले डीएसपी दिलिप क्षेत्रीको सरुवा भएपछि प्रशासनसमक्ष पाँच बुदे सहमति बिहीबार राति भएको थियो ।
तर मध्यरातमा भएको सहमतिमा आफूहरुको सहमति नरहेको भन्दै परिवारले आन्दोलन जारी राखेका हुन् ।
मृतक बालिकाको शव कलैया अस्पतालमै छ भने परिवारले आन्दोलन यथावत राखेका छन् ।
