सर्लाही, ११ भदाै । मुलुकमा आइपरेको पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसद्मा रहेका र बाहिर रहेका राजनीतिक दलहरूले साझा संकल्प र एकता प्रदर्शन गरेका छन् । 

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकमा सहभागी दलले विपद् व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने र दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाउने निर्णय गरेका हुन् । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय विपत्तिको समयमा सबै दलहरू एकै ठाउँमा उभिने विगतको परम्परालाई कायम राख्दै वर्तमान संकट समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेको बताए । 

थापाका अनुसार बैठकमा सरकारको तर्फबाट भइरहेको खोज, उद्धार र राहतका प्रारम्भिक कार्यबारे जानकारी गराइएको थियो। दलहरूले प्राप्त गरेका सूचनाहरू सरकारलाई हस्तान्तरण गरिएको थियो ।

‘अहिलेको मुख्य प्राथमिकता खोज, उद्धार र तत्काल राहत नै हो,’ थापाले भने, ‘पुनर्निर्माणको काम वर्षौँसम्म चल्ने र यसमा खर्बौँको क्षति हुने देखिएकाले लगातार अनुगमन गर्न, सरकारलाई सुझाव दिन र दलहरूलाई संयुक्त रूपमा परिचालन गर्न संसदीय संयन्त्र आवश्यक छ ।’

संयन्त्रमा संसदमा नभएका दलहरूलाई पनि समेटिने उनले जानकारी दिए। बैठकले विपद्पछिको पुनर्निर्माण र राहत वितरणलाई प्रभावकारी बनाउन संसद्मार्फत एक विशेष समिति वा संयन्त्र बनाउने प्रस्ताव गरेको छ । 

सभापति थापाले विगतका विपद्हरूमा केही समयपछि प्राथमिकताहरू फेरिने र पीडितहरू अलपत्र पर्ने प्रवृत्ति देखिएकाले यसपटक त्यसको पुनरावृत्ति हुन नदिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *