सर्लाही, ११ भदाै । ग्लोबल आईएमई बैंक लिमिटेडले भोटेकोसी नदीमा आएको भीषण बाढी प्रभावितका लागि पाँच करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बैंकले प्रभावित नागरिकको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेको हो ।
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका नदी तटीय क्षेत्रमा जनधनको क्षति भएको छ। बाढीले स्थानीय बस्ती, पुल, सडक सञ्जाल तथा जलविद्युत् आयोजना बगाएको छ ।
बाढी र पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै बैंकले बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितलाई तत्काल खाद्यान्न एवं बासस्थानको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको दीर्घकालीन पुनर्निर्माणमा सघाउ पुर्याउन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराउने जनाएको छ ।
बैंकले सामाजिक उत्तरदायित्वलाई राष्ट्रिय संकट र विपद्को घडीमा नागरिकको घाउमा मलम लगाउने मुख्य कर्तव्यका रूपमा लिएको जनाएको छ ।
यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्हरूमा बैंकले आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।
ग्लोबल आर्इएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३४१ शाखा कार्यालय, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।
बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण भित्र्याउँदै आएको छ ।
