सर्लाही, १५ भदाै । भदौ १० गते तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोटलगायत जिल्लाका नागरिकका लागि सर्लाहीमा स्थानीय तह (पालिका) को कार्यालयमार्फत राहत सङ्कलन गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार बिहान बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति सर्लाहीको बैठकले भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट प्रभावितका लागि राहत सङ्कलन गर्ने निर्णय गरेको हो ।
बैठकले पीडितका लागि नगद तथा वस्तुगत राहत सामग्री सङ्कलन गर्ने निर्णय गरेको छ । राहत सामग्रीअन्तर्गत चामल, दाल, पिठो, कपडा, त्रिपाल, टर्चलाइट, साबुन, ब्रस, टाबेल, बाल्टी, जग, शुद्ध खानेपानीलगायत सामग्री सङ्कलन गरिनेछ ।
बाढी प्रभावित क्षेत्रका लागि स्वेच्छाले सहयोग गर्न चाहने सङ्घसंस्था, निजी क्षेत्र, नागरिक समाज, उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई नगद तथा वस्तुगत राहत सामग्री आ-आफ्नो पालिकाको कार्यालयमा उपलब्ध गराउन बैठकले आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार भदौ १७ गतेसम्म राहत सङ्कलन गरी भदौ १८ गते प्रभावित क्षेत्रमा पठाउने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा बसेको बैठकले राहत सङ्कलनलाई पालिकामार्फत एकद्वार प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ । साथै, वर्षायाममा सर्लाहीमा समेत हुन सक्ने डुबान, कटान तथा बाढीका कारण राजमार्ग अवरुद्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पालिका र निर्माण व्यवसायीलाई आवश्यक औजार तथा सवारीसाधन तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।
बैठकमा सर्लाही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य रवीन महतो, विभिन्न पालिकाका प्रमुख, सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक अगुवालगायतको उपस्थिति थियो ।
यसैबीच, भोटेकोशी बाढीपीडितका लागि सहयोगस्वरूप सर्लाहीमा व्यक्तिगत तथा संस्थागत रूपमा प्रधानमन्त्री राहत कोषको बैंक खातामा क्यूआरमार्फत रकम जम्मा गर्ने क्रमसमेत जारी छ ।
