नारायणी अस्पतालबाट हराएका शिशु फेला, एक महिला पक्राउ

Byसदाम हुसैन

२०८३ भाद्र १६, मंगलवार २०८३ भाद्र १६, मंगलवार २०८३ भाद्र १६, मंगलवार
dav

सर्लाही, १६ भदाै । वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एकदिने नवजात शिशु प्रहरीले १६ घण्टामै सकुशल फेला पारेको छ ।

प्रहरीले शिशु चोरीमा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ समेत गरेको बताइएको छ । अस्पतालबाट आइतबार राति नवजात शिशु चोरी भएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो ।

रातभर सञ्चालन गरिएको खोजी अभियानका क्रममा वीरगन्ज महानगरपालिका–१६ इनर्वाबाट शिशुसहित एक महिलालाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा इनर्वा निवासी सबिना खातुन रहेकी छन् । उनको साथबाट फेला परेको नवजात शिशुलाई प्रहरीले उद्धार गरी परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।

सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वाकी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत शिशुलाई जन्म दिएकी थिइन् । अस्पतालमै रहेकी शिशुकी हजुरआमासँग एक महिलाले ‘ बच्चा खेलाउँछु’ भन्दै शिशु मागेकी थिइन् ।

हजुरआमाले शिशु ती महिलालाई दिएपछि उनी बच्चासहित अस्पतालबाट बाहिरिएकी थिइन् । त्यसपछि परिवारले शिशु हराएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको सूचना पाएलगत्तै पर्सा प्रहरीले विभिन्न स्थानमा खोजी तथा निगरानी बढाएको थियो ।

प्रहरीको सक्रियतामा शिशु चोरी भएको करिब १६ घण्टामै फेला परेको हो । पक्राउ परेकी महिलालाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

घटनामा उनको संलग्नताको प्रकृति र शिशु चोरी गर्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *