सर्लाही, १७ भदाै । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म उठेको आर्थिक सहयोगबाट भोटेकोसी बाढीले ग्रस्त रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा उद्धार तथा राहतका लागि तत्काल १ अर्ब खर्च गरिने भएको छ । उक्त रकम खर्च गर्न मिल्ने गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट विपद् व्यवस्थापन कोषमा निकासा गरिएको हो ।
मंगलबार विपद् व्यवस्थापन कोष सञ्चालन समितिको बैठकले १ अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा तत्काल परिचालन गर्ने निर्णय गरिएको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ बमोजिम विपद् व्यवस्थापन कोषमा प्राप्त रकम गृहसचिवले व्यवस्थापन गर्नेछन् ।
प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषको नाममा एभरेस्ट बैंकको खातामा रहेको मौज्दातबाट १ अर्ब रुपैयाँ कोषमा पठाइएको हो ।
विभिन्न बैंक खातामा रहेको राहत कोषमा हालसम्म लगभग ५ अर्ब रुपैयाँ आर्थिक सहयोग संकलन भइसकेको छ ।
अब उक्त रकम बाढीग्रस्त क्षेत्रमा आवश्यकता र मागका आधारमा बाढीपछिको उद्धार, राहत, तत्कालीन पूर्वाधार सुधार, अस्थायी बासस्थान निर्माणलगायतमा जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गर्न सकिने छ ।
यसका लागि बाढीग्रस्त पालिका वा जिल्लाका विपद् व्यवस्थापन समितिले आफ्नो आवश्यकताअनुसार रकम माग गर्न सक्नेछन् । त्यसैका आधारमा गृहसचिव नेतृत्वको समितिले रकम वितरण गर्नेछ ।
