सर्लाही, १७ भदाै । सर्लाहीको हरिवन स्थित इन्दु शंकर चिनी उद्योग लिमिटेडले भोटेकोशी बाढीपीडितका लागि राहतस्वरुप ३५ लाख रुपैंया सहयोग गरेको छ ।
औद्योगिक समूह केडिया परिवारले आफ्ना विभिन्न उद्योग तथा संस्थामार्फत एकमुष्ट एक करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ ।
केडिया परिवार अन्तर्गतका उद्योगमध्ये इन्दु शंकर चिनी उद्योगले ३५ लाख रुपैयाँ, सुशील वनस्पति प्रालिले ४० लाख रुपैयाँ, डीएभी सुशील केडिया विश्वभारतीले २० लाख रुपैयाँ तथा सीताराम गोकुल मिल्क्स प्रालिले ५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
यी सबै रकम गरी कुल एक करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको हो। इन्दु शंकर चिनी उद्योगका मालिक राजेश केडियासहित केडिया परिवारका सदस्यहरूले मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
इन्दु शंकर चिनी उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालका अनुसार भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले केडिया परिवारले उक्त रकम प्रदान गरेको हो ।
