सर्लाही, १८ भदाै । रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परी सम्पर्कविहीन भएका व्यक्तिहरु जीवित भेटिने आशा टरेपछि उनीहरूका परिवार र आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन् ।
बाढी गएको एक हप्ता बितिसक्दा पनि आफन्तको अवस्था पत्ता लाग्न नसकेपछि परिवारजनले अन्तिम संस्कारका लागि कुशबाट शवको प्रतीक बनाएर अन्त्येष्टि गर्न थालेका हुन् ।
हिजो पशुपति आर्यघाटमा कुशका शवको प्रतीक बनाएर सामूहिक अन्त्येष्टि गर्नेहरुको भीड लागेको थियो ।

बाढीमा परी आफन्त बेपत्ता भएको लामो समय बितिसक्दा पनि खोजीका क्रममा कुनै जानकारी प्राप्त नभएपछि अन्तिम संस्कार गर्न बाध्य भएको परिवारजनले बताएका छन् ।
आफन्त फर्केर आउने आशामा दिनरात पर्खिरहेका परिवारले अन्ततः धार्मिक संस्कार पूरा गरेर मनलाई केही शान्त पार्ने प्रयास गरेका हुन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका कारण अझै चार हजार दुईसयभन्दा धेरै सम्पर्कविहीन छन् ।

