सर्लाही, १८ भदाै । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नुवाकोटमा अवरुद्ध विद्युत् आपूर्ति ९० प्रतिशतसम्म पुनर्स्थापित भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको हो ।
ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको उल्लेख छ ।
मन्त्रालयका अनुसार चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोटका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको हो । हाल जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति पहिलेभन्दा बढी भरपर्दो भएसँगै भोल्टेजसमेत सुधारिएको मन्त्रालयले जनाएको छ ।
हाल विद्युत् आपूर्ति चार्ज भएका क्षेत्रमा विदुर नगरपालिकाको वडा नम्बर ६ तथा विदुर नगरपालिका वडा नम्बर ३ को करिब आधा क्षेत्र, तारकेश्वर नगरपालिकाको वडा नम्बर–१, ५ र ६, तारकेश्वर नगरपालिकाकै वडा नम्बर–२ र ३, बेलकोटगढी नगपालिकाको वडा नम्बर–७ रहेका छन् । साथै थप ३१ वटा ट्रान्सफर्मर समेत चार्ज गरिएको विवरणमा उल्लेख छ ।
तर विदुर नगरपालिका वडा नम्बर–१२ र विदुर नगरपालिकाको वडा नम्बर–३ को बाँकी आधा क्षेत्र, किस्पाङ गाउँपालिका, बेलकोटगढी नगरपालिका वडा नम्बर–८ र विदुर नगरपालिका वडा नम्बर–१० मा विद्युत् आपूर्ति पुनःस्थापना गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ ।
ऊर्जा मन्त्रालयले नुवाकोटमा विद्युत् संरचनामा आएको क्षतिपछि आपूर्ति पुनःसुचारु गर्न संरचना मर्मत तथा पुनःस्थापनाको काम अघि बढाएको जनाएको छ ।
