जनकपुरधाम–अयोध्या विशेष रेल सञ्चालन बारे नेपाल–भारतबीच छलफल

Byसदाम हुसैन

२०८३ भाद्र १९, शुक्रवार २०८३ भाद्र १९, शुक्रवार २०८३ भाद्र १९, शुक्रवार

सर्लाही, १९ भदाै । जनकपुरधामदेखि भारतको अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ । प्रस्तावित रेल सेवाका विषयमा भारतीय रेलवे र नेपाल रेलवे कम्पनीका अधिकारीहरूबीच जयनगरमा प्रारम्भिक चरणको छलफल भएको हो ।

जयनगरस्थित रेलवे कार्यालयमा भएको नेपाल–भारतका अधिकारीहरूको पहिलो चरणको बैठकमा निकट भविष्यमै जनकपुरधाम–अयोध्या विशेष रामायण सर्किट रेल सेवा सञ्चालन गर्ने विषयमा सैद्धान्तिक सहमति बनेको बताइएको छ ।

बैठकमा रेल सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको नेपाल रेलवे कम्पनीका प्रबन्धक परिवेश पराजुलीले जानकारी दिए ।

उनका अनुसार रेलको लिक, प्लेटफर्म व्यवस्थापन, सिग्नल प्रणाली, अध्यागमन, भन्सार जाँच चौकी, यात्रुका लागि आवश्यक सुविधा र सुरक्षा व्यवस्थालगायत विषय बैठकमा उठाइएको थियो ।

पराजुलीले जनकपुरधाम–अयोध्या रेल सेवाबारे भारतीय अधिकारीहरूसँग पहिलो चरणको छलफल भएको र त्यस क्रममा रेलवेका विभिन्न व्यवस्थापन तथा पूर्वाधारको अवस्थाबारे जानकारी आदानप्रदान गरिएको बताए। उनका अनुसार भारतीय अधिकारीहरूले विभिन्न रेलवे हाल्ट तथा स्टेसनको समेत स्थलगत अनुगमन गरेका छन् । उ

नले भने, ‘जनकपुर–अयोध्या रेल सञ्चालनबारे भारतीय अधिकारीहरूसँग पहिलो चरणको छलफल भएको हो । पहिलो चरणमा रेलवेका विभिन्न व्यवस्थापनबारे छलफल भयो र विभिन्न रेल्वे हाल्ट तथा स्टेशनको अवस्थाको अनुगमनसमेत गरिएको छ ।

चाँडै सञ्चालन गर्ने तयारीमा हामी पनि छौं ।’ प्रबन्धक पराजुलीले यो प्रारम्भिक बैठक भएकाले आगामी दिनमा थप चरणमा छलफल हुने बताए ।

दुई देशबीचको विषय भएकाले सरकार–सरकारबीच हुने सहमति पनि रेल सेवा सञ्चालनका लागि महत्वपूर्ण हुने उनको भनाइ छ ।

प्रस्तावित रेल सेवामा प्रारम्भिक रूपमा एसी र स्लीपर क्लासका डिब्बा सञ्चालन गर्ने विषयमा पनि छलफल भएको रेलवे स्रोतले जनाएको छ ।

रेलमार्ग तथा यात्रुको सुरक्षाका लागि नेपालतर्फ नेपाली सुरक्षा निकाय र भारततर्फ भारतीय सुरक्षा निकायले जिम्मेवारी लिने विषयमा समेत बैठकमा छलफल भएको बताइएको छ ।

बैठकपछि नेपाल र भारतका अधिकारीहरूले विशेष निरीक्षण गाडीमार्फत जयनगर–जनकपुरधाम–कुर्था रेल खण्डका स्टेशन तथा हाल्टहरूको स्थलगत निरीक्षण गरेका थिए ।

निरीक्षणका क्रममा रेलमार्गको वर्तमान अवस्था, सिग्नलिङ प्रणाली, सीमावर्ती क्षेत्रको अध्यागमन तथा भन्सार व्यवस्थासहित आवश्यक संरचनाबारे जानकारी लिइएको थियो ।

त्यसैगरी, अयोध्याबाट जनकपुरधाम आउने यात्रुको सुरक्षा, अध्यागमन प्रक्रिया तथा यात्रु आवागमनलाई व्यवस्थित र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो ।

प्रस्तावित विशेष रेल सेवा सञ्चालनमा आएपछि भारतको अयोध्या र नेपालको जनकपुरधामबीच धार्मिक तथा सांस्कृतिक पर्यटन विस्तारमा महत्वपूर्ण योगदान पुग्ने भारतीय अधिकारीहरूको विश्वास छ ।

छलफलमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झा, नेपाल रेलवे कम्पनीका पदाधिकारी तथा सुरक्षा अधिकारीहरूको सहभागिता थियो ।

भारतीय पक्षबाट समस्तीपुर रेलवे डिभिजनका डीसीएम अमृतेश कुमार, डीएमओ विजय प्रकाश, कस्टम आयुक्त अरुण प्रसाद, एसएसबीका डीआईजी मधुकर अमिताभ, मधुबनी जिल्लाका ग्रामीण एसपी शिवम धाकड, भारतीय राजदूतावासका प्रथम सचिव कुमार गौरव सिंह तथा इरकानका पदाधिकारी सहभागी थिए ।

नेपाल र भारतबीच कायम धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई रेल सेवामार्फत थप मजबुत बनाउने उद्देश्यले प्रस्तावित यो सेवाले रामायणसँग जोडिएका महत्वपूर्ण धार्मिक गन्तव्यबीचको यात्रालाई सहज बनाउने अपेक्षा गरिएको छ ।

विशेषगरी जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटन तथा दुई देशका नागरिकबीचको सांस्कृतिक आवागमन बढाउन रेल सेवा प्रभावकारी माध्यम बन्न सक्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *